सत्तारुढ दलहरुबीच चुनावी तालमेल गर्ने सहमति, देशभरको स्थिति बुझ्न समिति बनाउँदै
अखबार टुडे
प्रकाशित:
२०७८, १७ चैत्र

काठमाडौं, १७ चैत । सत्तारुढ गठबन्धन दलहरुले स्थानीय तहको चुनावमा तालमेल गर्ने निर्णय गरेका छन् ।

बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा मिलेर जाने सहमति गरेको हो । साथै, बैठकले देशभरको स्थिति आँकलन गर्न समिति बनाउने निर्णय गरेको छ ।

बैठकपछि पत्रकारसित कुरा गर्दै कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले पाँच दलीय गठबन्धनले स्थानीय तह चुनावमा तालमेल गरेर अघि बढ्ने निर्णय भएको जानकारी दिए ।

तालमेलका लागि प्रदेशस्तरीय र जिल्लास्तरीय र पालिकास्तरीय समिति बनाउने सहमति भएको छ । कार्कीले भने, ‘समितिले २२ गते भित्रमा प्रदेश, जिल्ला र स्थानीय तहको स्थितिका बारेमा प्रतिवेदन दिन्छ । त्यसपछि प्रतिवेदनका आधारमा तालमेल हुन्छ ।’

उनले राष्ट्रियसभा चुनावमा भएको जस्तै तालमेल स्थानीय तह चुनावमा पनि हुने जानकारी दिए । उनले भने, ‘पाँच दलीय गठबन्धन एक ठाउँमा उभिएर स्थानीय निर्वाचनको सामना गर्छ ।’

बैठकले महानगरपालिकाको उम्मेद्वारीबारे निर्णय केन्द्रबाटै गर्ने र अन्यका लागि निर्णय गर्न अधिकार तल्ला तहमा दिने निर्णय पनि बैठकले गरेको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए । चुनावी तालमेलका बाँकी प्रक्रियाका विषयमा पुनः छलफल गरेर अगाडि बढ्ने सहमति भएको उनले बताए ।

प्रतिक्रिया