स्थानीय निर्वाचनमा तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय
अखबार टुडे
प्रकाशित:
२०७८, १७ चैत्र

काठमाडौं, १७ चैत । सत्तारुढ ५ दलीय गठबन्धनले स्थानीय तह चुनावमा तालमेल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकपछि पत्रकारसित कुरा गर्दै कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले वैशाख ३० को चुनावमा सत्तारुढ दल मिलेर जाने निर्णय गरेको जानकारी दिएको हो ।

उनका अनुसार तालमेलका लागि प्रदेशस्तरीय र जिल्लास्तरीय र पालिकास्तरीय समिति बनाउने सहमति भएको र समितिले प्रदेश, जिल्ला र स्थानीय तहको स्थितिका बारेमा प्रतिवेदन बुझापछि त्यसका आधारमा तालमेल हुने बताए । कार्कीले राष्ट्रिय सभा चुनावमा भएको जस्तै तालमेल स्थानीय तह चुनावमा पनि हुने जानकारी दिए ।

यस्तै, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले बैठकले महानगरपालिकाको उम्मेद्वारीबारे निर्णय केन्द्रबाटै गर्ने र अन्यका लागि निर्णय गर्न अधिकार तल्ला तहमा दिने निर्णय पनि बैठकले गरेको जानकारी दिए । चुनावी तालमेलका बाँकी प्रक्रियाका विषयमा पुनः छलफल गरेर अगाडि बढ्ने सहमति भएको उनको भनाइ छ ।

प्रतिक्रिया