पश्चिमा जासुसी निकायहरूको दावी- ‘युक्रेन युद्धमा रुस हारिरहेको छ, यथार्थ पुटिनलाई थाहै छैन’
अखबार टुडे
प्रकाशित:
२०७८, १७ चैत्र

काठमाडौं, १७ चैत । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन युद्धको यथार्थ तस्बिर प्रस्तुत नगरिएको पश्चिमा जासुसी निकायहरूले बताएका छन् ।

बीबीसीको समाचार अनुसार कुन हदसम्म उनको सेना युक्रेन युद्धमा पराजित भइरहेको छ भन्ने यकीन विवरण पुटिनलाई नदिइएकाले शान्ति वार्ताका प्रयासमा समेत प्रभाव पर्ने चिन्ता पश्चिमाहरूले गरेका छन् ।

रुसले युक्रेनमाथि अतिक्रमण सुरु गरेको पाँच साता वित्दै गर्दा त्यहाँ मस्कोका सेनाले विभिन्न अवरोध सामना गर्नुमा पुटिनलाई युद्धमैदानको वास्तविकता नबताइनु ब्रिटिस तथा अमेरिकी जासुसी निकायले जनाएका छन् । यही कारण पुटिन र उनका सैन्य जर्नेलहरूबीच तनाव बढेको ह्वाइट हाउसले जनाएको छ ।

वरिष्ठ सल्लाहकारहरूले रुसी नेतालाई युद्धमैदानमा सेनाको खराब प्रदर्शनबारे बताउन डराएका छन् । पुटिनले पश्चिमा देशहरूले लगाएको आर्थिक प्रतिबन्धको यकिन परिणामबारेसमेत पूर्ण रूपमा नबुझेको ह्वाइट हाउसकी प्रवक्ताले बताएको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकी रक्षामन्त्रालय पेन्टागनका प्रवक्ता जोन कर्बीले यो अवस्थाको परिणाम युद्ध अन्त्य गराउने वार्ता प्रयासमा पर्न सक्ने बताएका छन् । आफ्नै सेना र आफ्नै युद्धबारे सम्पूर्ण जानकारी नहुनु भनेको असहज परिस्थिति भएको उनको भनाइ छ ।

‘यो उनकै सेना हो । उनकै युद्ध हो । उनले नै युद्ध रोजेको हो । यस्तो बखत यदि उनलाई सबै सन्दर्भको जानकारी छैन वा आफ्ना सेना युक्रेनमा कुन हदमा हारिरहेको छ भन्ने जानकारी छैन भने त्यो अलि असहज बनाउने विषय नै हो’ पेन्टागनका प्रवक्ताको भनाइको हवाला दिँदै बीबीसीले लेखेको छ ।

यस्तै, ब्रिटिश जासुसी संस्थाका प्रमुखले रुसले युक्रेन युद्धअवस्थाबारे उसको पूर्व आकलनमा ठूलो भूल गरेको बताएका छन् । त्यहाँ रुसी सेनाको मनोबल खस्किएको, युद्ध सामग्रीको अभाव भएको तथा सेनाले आदेश पालना गर्न अटेर गरिरहेको उनले बताए । क्रेम्लिनले यी भनाइबारे कुनै प्रतिक्रिया दिइसकेको छैन ।

प्रतिक्रिया