
बनेपा, १६ चैत । उद्धवप्रसाद नेपालद्वारा लिखित ‘आध्यात्मिक ज्ञानभण्डार’ पुस्तक सार्वजनिक भएको छ ।
शब्दयात्रा प्रकाशनद्वारा आयोजित समारोहमा प्रमुख अतिथि मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी र विशेष अतिथि नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन् ।

समारोहमा शब्दयात्राका सभापति तथा विश्व रेकर्ड कायम गरेका गीतकार हरि गोपाल प्रधानलाई ‘शब्दयात्रा विशेष सम्मान’, भरत जंगमलाई सिर्जना सम्मान, गीता केशरीलाई प्रशासनिक महिला प्रतिभा सम्मान, प्रा.डा. जगदीश वैद्यलाई सामाजिक जागरण सम्मान, प्रा. डा. टंकनाथ शर्मालाई शिक्षा सम्मान, प्रा. डा. रमेशकुमार मास्केलाई विज्ञान–प्रविधि सम्मान, शरच्चन्द्र वस्तीलाई स्तम्भकार सम्मान, तिलकप्रसाद लुइँटेललाई राष्ट्रझङ्कार सम्मान, प्रा.डा. नन्दीश अधिकारीलाई शिक्षक सम्मान र निर्मला श्रेष्ठलाई शोध सम्मान समर्पण गरिएको थियो ।
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष तथा शब्दसारथि उपाधि प्राप्त भाषासेवी हरि मञ्जुश्रीले संस्थागत विषयमा जानकारी दिँदै सहभागीलाई स्वागत गरेका थिए ।
कार्यक्रममा लोकेन्द्र ढकालले पुस्तकमाथि टिप्पणी गरेका थिए भने रश्मि हुमागाई, सकुल थापा, शारदाप्रसाद शर्मा, शिव बन्जारा र संगीता केसीले विशेष सहयोग गरेका थिए ।