वाइडेनद्वारा नेपालका लागि राजदूतमा थम्सनलाई पठाउने प्रस्ताव
अखबार टुडे
प्रकाशित:
२०७८, १६ चैत्र

काठमाडौं, १६ चैत । अमेरिकाका राष्ट्रपति जोसेफ वाइडेनले नेपालका लागि राजदूतमा डिन आर थम्सनलाई प्रस्ताव गरेका छन् ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा नेपालका लागि राजदूतमा थम्सनलाई नियुक्त गर्न राष्ट्रपतिले प्रस्ताव गरेको उल्लेख गरिएको छ । लामो समय परराष्ट्र सेवामा कार्यरत थम्सनले सन् २०२१ को सेप्टेम्बर १५ देखि अमेरिकाको परराष्ट्र सेवामा दक्षिण तथा मध्य एसियाका लागि मुख्य सहायकमन्त्रीको भूमिकामा कार्यरत छन् ।

उनको नियुक्तिलाई सिनेटले अनुमोदन गरेपछि नेपालका लागि राजदूत नियुक्त हुने व्यवस्था छ । परराष्ट्र सेवामा लामो समय काम गर्नुभएका थम्सनको राजदूतको भूमिकामा नियुक्त भएको पहिलोपटक हो ।

यस अगाडि उनीसँग मलेसियाको राजधानी क्वालालम्पुरमा चिफ अफ मिशन भएर काम गरेको अनुभव रहेको छ । यसअघि रोमानियाका लागि उपनियोग प्रमुख भएर काम गरेका थम्सनले विभिन्न पदमा रहेर भारत, श्रीलङ्कालगायत देशमा पनि बस्नुभएको स्टेट डिपार्टमेन्टमा रहेको उनको व्यक्तिगत विवरणमा उल्लेख गरिएको छ ।

अमेरिकी विदेशमन्त्रीहरुलाई सिधा सहयोग, चौबिसै घण्टा खुला हुने अपरेशन सेन्टर लगायतका विभिन्न इकाइमा बसेर देश सेवा गर्नुभएका थम्सनले परराष्ट्र सेवाभन्दा अघि रक्षा मन्त्रालय मातहत रहेर काम गर्नुभएको अनुभवसमेत रहेको छ ।

युनिभर्सिटी अफ मेरिल्यान्डको पब्लिक अफेयर्सबाट सार्वजनिक व्यवस्थापनमा स्नातकोत्तर गरेका उनले नेशनल सेक्युरिटी स्टडीमा स्नातकोत्तर उपाधि ग्रहण गरेका छन् ।

प्रतिक्रिया