रुस-यक्रेन युद्ध : दोस्रो विश्वयुद्धपछिकै अप्रत्यासित, ३९ लाख युक्रेनीले देश छोडे
अखबार टुडे
प्रकाशित:
२०७८, १६ चैत्र

काठमाडौं, १६ चैत । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता ३९ लाख युक्रेनी देश छोडेर अन्य देशमा शरणार्थी बनेको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरका अनुसार देश छोडेका शरणार्थीहरुले थकित र निराश महसुस गरेका छन् ।

यूनएचसीआरका अनुसार मंगलबारसम्म ३९ लाख युक्रेनीले देश छाडेका छन् । पछिल्ला दिनमा शरणार्थीको दैनिक प्रवाह ४० हजार रहेको बताइएको छ । ‘निश्चित रूपमा विस्थापनको गति र मापनको हिसाबले यो पलायन युरोपमा दोस्रो विश्वयुद्धपछिकै अप्रत्यासित हो’, यूएनएचसीआरका प्रवक्ता म्याथ्यू साल्टमार्शले भनेका छन् ।

‘हामीले लाखौँ मानिसलाई सीमामा आइपुगेको देखिरहेका छौँ’, रेडक्रस र रेड क्रिसेन्ट सोसाइटिज (आईएफआरसी)को अन्तर्राष्ट्रिय महासंघका अध्यक्ष फ्रान्सेस्को रोक्काले भने, ‘मानिसहरू शारीरिक, मानसिक र भावनात्मक रूपमा थकित र तनावग्रस्त छन् ।’

युक्रेनी शरणार्थीबाहेक, देशमा बसोबास गर्ने, अध्ययन गर्ने र काम गर्ने करिब दुई लाख गैरयुक्रेनीहरू पलायन भएको राष्ट्रसंघको आप्रवासी अन्तर्राष्ट्रिय संगठनले जनाएको छ ।

आक्रमण जारी

युक्रेनको सशस्त्र सैन्य बलका अनुसार रुसले आक्रमण जारी राखेको छ । केही रुसी सैन्य एकाइहरू हटेका भएपनि मस्कोले पूर्णस्तरको सशस्त्र अतिक्रमण जारी नै राखेको छ । उनीहरूका अनुसार रुसी सेना पूर्वी युक्रेनको केही भागमा केन्द्रित हुनकालागि पुनः संगठित हुँदै छन् ।

राष्ट्रपति जेलेन्स्कीले भनेका छन् अवस्था सहज भएको छैन र युक्रेनको सेनाले उसको प्रतिरक्षात्मक कदमहरूलाई खुकुलो पार्ने छैन । किएभमा रहेका बीबीसीका जेरमी बावेन भन्छन् ‘त्यहाँ रुसी आक्रमण पहिले नै सुस्त भैसकेको थियो ।’

‘रुसीहरूले यथार्थ अवस्था अनुसार नै प्रतिक्रिया जनाएका जस्तो देखिन्छ । तिनीहरूले शहरमा प्रवेश गर्न खोजेका थिए । तर तिनीहरू सफल भएनन् । तिनीहरूले धेरै युद्ध सामग्री गुमाउनु परेको छ तैपनि शहरको प्रतिरक्षामा कुनै कमी देखिएको छैन । त्यो अझ बलियो भएको मैले आफै देखेको छु ।’ जेरमी बावेनले भनेका छन् ।

प्रतिक्रिया