जिल्ला अदालत तनहुँको आदेशविरुद्ध पल शाह उच्च अदालतमा
अखबार टुडे
प्रकाशित:
२०७८, १५ चैत्र

काठडमाडौं, १५ चैत । नाबालिग गायिकामाथि जबर्जस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहले जिल्ला अदालत तनहुँको आदेशविरुद्ध उच्च अदालत पोखरामा रिट निवेदन दायर गरेका छन् ।

अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यका अनुसार शाहले थुनामा पठाउने अदालतको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पोखरामा रिट निवेदन दायर गरेका हुन् ।

उनले तारेखमा रिहा गर्न माग गरेका छन् । शाहले फौज्दारी कार्यविधि संहिता २०७४ को दफा ७३ (९) बमोजिम निवेदन दिएको बताइएको छ ।

चैत १० गते जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । थुनामा रहेको पाँचौ दिन शाह अदालत पुगेका हुन् । शाहले गत फागुन १५ गते तनहुँ प्रहरीसामु आत्मसमर्पण गरेका थिए ।

प्रतिक्रिया