काठमडाौं, १५ चैत । ओस्कार अवार्ड समारोहमा प्रस्तोता क्रिश रकलाई थप्पड हान्ने अभिनेता विल स्मिथले माफी मागेका छन् ।
फिल्मी दुनियाँको सबैभन्दा प्रतिष्ठित मानिएको ओस्कार फिल्म एकेडेमीले स्मिथको भर्त्सना र घटनाबारे औपचारिक समीक्षाको घोषणा गरेपछि उनले माफी मागेका हुन् ।
उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘क्रिश म तिमीसँग सार्वजनिक रूपमा माफी माग्न चाहन्छु । मैले सीमा नाघेर व्यवहार गरेँ र म गलत थिएँ ।’
स्मिथले इन्स्टाग्राममार्फत सार्वजनिक गरेको स्टाटसमा लेखिएको छ, ‘हिंसाको हरेक स्वरूप विषाक्त र विनाशकारी हुन्छ । गए राति एकेडेमी अवार्डमा मैले गरेको व्यवहार अस्वीकार्य र अक्षम्य छ । ममाथि हुने ठट्टाहरू मेरो कामको एउटा अंश हो तर जाडाको स्वास्थ्य अवस्थाप्रति गरिएको ठट्टा असह्य थियो र मैले भावनात्मक रूपमा प्रतिक्रिया जनाएँ ।’
स्मिथले रकसँग माफी माग्दै आफ्नो व्यवहारले सीमा नाघेको बताएका छन् । उनले एकेडेमी र विलियम्स परिवारसँग पनि माफी मागे । उनले पश्चात्ताप लागेको बताउँदै आफ्नो व्यवहारका कारण दाग लागेको बताए ।
तर, उनको क्षमा याचनाले घटनाक्रमको अन्त्य नहुने लस एन्जलसस्थित मनोरञ्जन संवाददाता स्टिभन म्याकन्टसले जनाएका छन् । उनका अनुसार रकले सार्वजनिक रूपमै प्रतिक्रिया जनाउनु पर्नेछ । केहीले उनको ओस्कर अवार्ड खारेज हुन सक्ने तथा एकेडेमी सदस्यता निलम्बन हुनेजस्ता प्रतिबन्ध लाग्न सक्ने बताए पनि याचनापछि त्यो सम्भावना कम भएको छ ।
हास्य कलाकार क्रिशले आफ्नी श्रीमती जाडा पिङ्केट स्मिथको मुडुलो टाउकोमाथि ठट्टा गरेपछि चर्चित अभिनेता स्मिथले उनको गालामा थप्पड हानेका थिए । क्रिशले पिङ्केट स्मिथको कपाल झर्ने समस्या, एलोपेसियाको कारण मुडुलो बनाएको टाउकोप्रति लक्षित ठट्टा गरेका थिए । उनले भनेका थिए, ‘आई लभ यु जाडा । म जीआई जेन २ को प्रतीक्षामा छु ।’
जीआई जेन सन् १९९७ को हलिवूड फिल्म हो जसकी प्रमुख नायिकाले शिर मुण्डन गरेकी थिइन् । घटनाको केही क्षणपछि अभिनेता स्मिथले किङ रिचर्ड नामक चलचित्रमा ख्यातिप्राप्त टेनिस खेलाडीहरू भिनस र सेरेना विलियम्सको बुबाको भूमिका निर्वाह गरेकोमा ओस्कर पुरस्कार जितेका थिए ।
स्मिथको क्षमा याचना सार्वजनिक हुनुअघि संस्थाले विज्ञप्तिमार्फत स्मिथको कार्यको निन्दा गर्ने उल्लेख गरेको थियो ।