राष्ट्रिय मान्यता प्राप्त नगरेका दललाई दलकै निर्वाचन चिह्न दिने आयोगको निर्णय
अखबार टुडे
प्रकाशित:
२०७८, १४ चैत्र

काठमाडौं, १४ चैत । निर्वाचन आयोगले आगामी बैशाख ३० गते स्थानीय तह निर्वाचन प्रयोजनाका लागि दर्ता भएका राजनीतिक दललाई आआफ्नै निर्वाचन चिह्न प्रदान गर्ने भएको छ ।

दलको राष्ट्रिय मान्यता प्राप्त नगरेका अन्य दललाई सम्बन्धित दलकै निर्वाचन चिह्न दिने आयोगले निर्णय गरेको हो ।

प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार जिल्लामा सङ्गठन संरचना रहेको विवरण प्राप्त भएका दललाई सम्बन्धित दलकै निर्वाचन चिह्न प्रदान गर्नेगरी आयोगले मतपत्र तयार गर्न लागेको छ ।

तत्तत् दलको जिल्लागत सङ्गठन संरचनाका आधारमा जिल्लागत तहमा दलको सङ्ख्यात्मक उपस्थिति भिन्नभिन्न रहेको छ । राष्ट्रिय मान्यता प्राप्त छसहित ७३ राजनीतिक दलले स्थानीय तह निर्वाचनका लागि दल दर्ता गराएका थिए ।

राष्ट्रिय मान्यता प्राप्तबाहेकका दललाई आआफ्नो दलको निर्वाचनमा चुनाव चिह्नमा निर्वाचनमा भाग लिने भए जिल्लागत क्रियाशील सङ्गठन संरचना बुझाउन समयसीमा तोकेर निर्देशन दिएको थियो । यसअघि राष्ट्रिय मान्यता दलबाहेक अन्य दललाई स्वतन्त्र समूहबाट चुनाव चिह्न प्रदान गर्ने अभ्यास थियो ।

प्रतिक्रिया