तटस्थ हैसियतबारे छलफल गर्न युक्रेन तयार, रुसद्वारा लभिभमा क्रुज क्षेप्यास्त्र प्रहार
अखबार टुडे
प्रकाशित:
२०७८, १४ चैत्र

काठमाडौं, १४ चैत । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि आफ्नो देश तटस्थ हैसियत कायम गर्नेबारेको छलफल गर्न तयार रहेको बताएका छन् ।

त्यसका लागि जनमत सङ्ग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षहरूबाट हुनुपर्ने उनले बताएको बीबीसीले जनाएको छ । जेलेन्स्कीको उक्त भनाइ स्वतन्त्र रुसी पत्रकारसँगको अन्तर्वार्ताका क्रममा आएको हो ।

सुरक्षाको प्रभावकारी सुनिश्चितता अनिवार्य विषय रहेको बताउँदै जेलेन्स्कीले भने, ‘अवश्य हाम्रो लक्ष्य देशमा सक्दो छिटो शान्ति र जनजीवन सामान्य अवस्थामा फर्कियोस् भन्ने छ ।’ आंशिक रूपमा रुस पक्षधर पृथकतावादीहरूले नियन्त्रण गरिराखेको डोनबास क्षेत्रमा समेत आफूले सम्झौता गर्न सक्ने उनले जनाएका छन् ।

९० मिनेट लामो भिडिओ अन्तर्वार्तामा जेलेन्स्कीले भने, ‘मलाई थाहा छ रुसलाई युक्रेनी भूभागबाट पूरै बाहिर निकाल्न असम्भव छ । त्यसले तेस्रो विश्वयुद्धतिर डो¥याउँछ । मैले यही बुझेरै सम्झौताको कुरा गरिरहेको छु ।’

उनले निःशस्त्रीकरण हुनुपर्नेजस्ता रुसी माग भने युक्रेनले अस्वीकार गरेको उनले बताए । युक्रेनले रुससँगको शान्तिवार्ताको अर्को चरणमा आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डता कायम गर्ने कुरामा जोड दिने जेलेन्स्कीले बताएका छन् ।

पूरा समय रुसी भाषामा बोलेका उनले रुसी हमलाले युक्रेनको रुसी भाषा बोलिने शहरहरू ध्वस्त पारेको बताएका थिए । युक्रेन र रुसबीच नयाँ चरणको प्रत्यक्ष वार्ता यसैसाता टर्कीमा हुँदैछ ।

रुसद्वारा युक्रेनी शहर लभिभमा क्रुज क्षेप्यास्त्र प्रहार

रुसी फौजले पश्चिमी युक्रेनी शहर लभिभमा आइतबार अत्याधुनिक क्रुज क्षेप्यास्त्र प्रहार गरेको छ । रुसी रक्षा मन्त्रालयलका अनुसार रुसी फौजले लभिभ नजिक युक्रेनी फौजले प्रयोग गरिरहेको इन्धन भण्डारमा लामो दूरीका क्षेप्यास्त्र प्रहार गरेको हो ।

यसैगरी, विमानभेदक प्रणाली, रडार स्टेसन्स र टैंकको दृष्टि मर्मत गर्न प्रयोग भइरहेको कारखानामा क्रुज क्षेप्यास्त्र प्रहार गरिएको छ । रुसी मन्त्रालयका प्रवक्ता इगोर कोनासेनकोभले रुसी महासंघको सशस्त्र फौजले विशेष सैनिक अभियानानुसार आक्रमण कार्यलाई जारी राखेको बताएका छन् ।

रक्षा मन्त्रालयले लभिभ शहरमा क्षेप्यास्त्र प्रहार हुँदै गरेका भिडियो पनि सार्वजनिक गरेको छ । नेटो सदस्य राष्ट्र पोल्याण्डदेखि मात्र ६० किमि टाढा रहेको लभिभका अधिकारीहरूले क्षेप्यास्त्र आक्रमणमा मानिस घाइते भएको बताएका छन् ।

रुसले युक्रेनको राजधानी किभनजिकका एस-३०० क्षेप्यास्त्रहरू र विमानभेदक क्षेप्यास्त्र प्रणाली ध्वस्त पार्न समुद्रबाट लामो दूरीका क्षेप्यास्त्रहरू पनि प्रहार गरेको छ ।

प्रतिक्रिया