नेपालको भूमिमा चीन विरोधि गतिविधि हुन नदिने प्रचण्डको प्रतिबद्धता
अखबार टुडे
प्रकाशित:
२०७८, १३ चैत्र

काठमाडौं, १३ चैत । नेकपा माओवादी केन्द्रले बेल्ट एण्ड रोड(बीआरआई) अवधारणाअन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शिघ्र कार्यान्वयनमा ल्याउन चीन सरकारलाई अनुरोध गरेको छ ।

नेपालको आर्थिक र सामाजिक विकासका लागि महत्वपूर्ण मानिएका ती आयोजना समयमा अगाडि बढ्दा त्यसले सकारात्मक प्रभाव पर्ने भन्दै माओवादीले त्यसका लागि पहल गरिदिन चिनियाँ विदेशमन्त्री वाङ यीमार्फत चीन सरकारलाई आग्रह गरेको हो ।

चिनियाँ विदेशमन्त्री एवं राज्यपरिषद् सदस्य वाङ यीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गरेको शिष्टाचार भेटका क्रममा कोरोना महामारीका कारण लामो समयदेखि नियमित हुन नसकेको तातोपानी र रसुवागढी नाकालाई सहज रुपमा सञ्चालन हुने वातावरण बनाइदिन चिनियाँ विदेशमन्त्रीको ध्यानकर्षण गराएको माओवादी नेता शक्ति बस्नेतले जानकारी दिए । सो अवसरमा नेपाल चीन सम्बन्धमा विविध आयामका बारेमा कुराकानी भएको थियो ।

माओवादी अध्यक्ष प्रचण्डले दुई देशबीचको मैत्री सम्बन्धका बारेमा चर्चा गर्दै नेपालको भूमिमा चीन विरोधि गतिविधि हुन नदिने प्रतिबद्धता दोहो¥याए । अध्यक्ष प्रचण्डले भने, ‘नेपाल सधैँ एक चीन नीतिको पक्षमा अडिग रहेको र उनको भूमि कुनै पनि देशविरुद्ध प्रयोग हुन दिँदैनौँ ।’ नेपालको आर्थिक विकाससँग जोडिएको बिआरआई र चीनका तर्फबाट प्रतिबद्धता जनाइएका परियोजना अगाडि बढ्छ भन्नेमा आफूहरु विश्वस्त रहेको अध्यक्ष प्रचण्डको भनाइ थियो ।

कोरोनाका कारण नाका सहज नहुँदा व्यापार घाटा थप चुलिएको सन्दर्भमा आवश्यक नीतिगत एवं प्राविधिक रुपमा देखिएका समस्या समाधान गर्न आग्रह गरिएको नेता बस्नेतले जानकारी दिए । कोरोना कालमा चीन सरकारका तर्फबाट नेपालले प्राप्त गरेको सहयोगप्रति माओवादी नेतृत्वले चीन सरकारलाई विशेष धन्यवाद दिएको थियो ।

माओवादी शीर्ष नेतृत्वको आग्रहलाई सकारात्मक रुपमा लिँदै चिनियाँ विदेशमन्त्रीले नेपालको आर्थिक एवं सामाजिक विकासमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले नजिकको छिमेकी र परम्परागत मैत्री सम्बन्ध भएकाले पनि नेपालको चासो र विकासप्रतिको तीव्र इच्छालाई चीन सरकारले सदैव समर्थन गर्दै सहयोग गरेको र त्यो निरन्तर रहने बताएको थियो ।

प्रतिक्रिया