
काठमाडौं, १३ चैत । नेकपा (एमाले) ले बेल्ट एण्ड रोड अवधारणासँग जोडिएका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजनालाई अगाडि बढाउन चीन सरकारलाई आग्रह गरेको छ ।
नेपालको त्रिदिवसीय भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री एवं राज्यपरिषद् सदस्य वाङ यीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटका क्रममा सो आग्रह गरेको हो ।
एमाले नेता राजन भट्टराईका अनुसार भेटवार्ताका क्रममा कोरोनाका कारण प्रभावित भएका चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनका क्रममा रहेका नेपाली विद्यार्थीलाई सहज रुपमा फर्कने वातावरण बनाइदिन आग्रह गरेको जानकारी दिए ।
तातोपानी र रसुवागढी नाकाको नियमित सञ्चालनका लागि एमालेले चिनियाँ विदेशमन्त्री वाङलाई आग्रह गरेको थियो । एमालेले गरेको आग्रहलाई विदेशमन्त्री वाङले सकारात्मक रुपमा लिँदै नेपालको विकास र समृद्धिका लागि सहयोग गर्न आफूहरु तयार रहेको बताएको थियो । विआरलगायतका परियोजनासँग जोडिएका विषयलाई अगाडि बढाउन र त्यसलाई नियमित गर्न चीन सरकारका तर्फबाट सहयोग रहने विदेशमन्त्री वाङको भनाइ थियो ।
यस्तै, आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग परराष्ट्रमन्त्री वाङ यीले शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच युगौँ पुरानो नेपाल–चीन मैत्रीबारे विचारविमर्श भएको थियो ।
ऐतिहासिक कालदेखिको नेपाल र चीनबीचको असल सम्बन्ध यस प्रकारका उच्चस्तरका भ्रमणले बहुआयमिक दुईपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गरेका थिए । साथै उनले नेपालको सामाजिक–आर्थिक विकासमा चीनले निरन्तर सहयोग गर्दै आएकामा हार्दिक कृतज्ञता व्यक्त गरेका थिए ।