एकदिवसीय क्रिकेट श्रृंखलामा नेपालविरुद्ध पीएनजीको क्लिन स्विप
अखबार टुडे
प्रकाशित:
२०७८, १२ चैत्र

काठमाडौं, १२ चैत । एकदिवसीय क्रिकेट श्रृंखलामा नेपाल पपुवा न्यूगिनी (पीएनजी) संग लगतार दोस्रो हार बेहोरेको छ । आजको दोस्रो खेलमा पनि पीएनजीले नेपाललाई ३ विकेटले हराउँदै क्लिन स्विप गरेको हो ।

नेपालले जितका लागि दिएको २ सय ७९ रनको लक्ष्य पपुवा न्यूगिनीले ४८ ओभर ४ बलमा ७ विकेट गुमाउँदै भेट्टायो । कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले दिपेन्द्रसिंह ऐरीको शतकमा ८ विकेट गुमाएर दुई सय ७८ रन बनाएको थियो । ऐरीले आजको खेलमा सर्वाधिक १ सय ५ रन जोडे । उनको यो पहिलो शतक पनि हो । ऐरी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने नेपालका तेस्रो खेलाडी समेत बनेका छन् ।

यस्तै, आजको खेलमा देव खनालले ७२ रनको अर्धशतकीय पारी खेले । खनाल र ऐरीले १ सय २९ रनको कीर्तिमानी साझेदारी गरेपछि नेपालले राम्रो योगफल बनाउन सफल भएको थियो । रोहित पौडेल ३५ रन बनाएर आउट भए । त्यस्तै भीम सार्कीले २६ रन जोडे । कप्तान सन्दीप लामिछाने २४ रनमा र सोमपाल कामी ३ रनमा अविजित रहे ।

पपुवा न्युगिनीका एली नाओले ३ तथा नर्मन भानुवाले २ विकेट लिए । चाद सोपर र चाल्स अमिनीले एक÷एक विकेट लिए । पपुवा न्युगिनीका लागि चाड सोपरले १२ बलमा नटआउट १६ रन र रिली हेकुरेले ४५ बलमा नटआउट ४८ रन जोडे । त्यसअघि लेगा सिआकाले ९० रनको योगदान गरेका थिए। उनले १०२ बलमा १२ चौका र १ छक्का हिर्काए। चार्ल्स अमिनीले ३५ रन र सेसे बाउले ३८ रन जोडे ।

बलिङमा नेपालका सोमपाल कामीले ३ विकेट लिए । पवन सर्राफले २ विकेट लिँदा सन्दीप लामिछाने र आरिफ शेखले १–१ विकेट लिए ।

यसैबीच, नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एकदिवसीय क्रिकेटमा ५० विकेट लिने पहिलो नेपाली बलर बनेका छन् । साथै उनी सर्वाधिक छिटो ५० विकेट लिने विश्वकै दोस्रो बलर बनेका छन् ।

सन्दीपले २२ खेलमा ५० विकेट पूरा गरेका छन् । एकदिवसीयमा सर्वाधिक छिटो ५० विकेट लिने किर्तिमान श्रीलंका पूर्व स्पिनर अजान्था मेन्डिसको नाममा छ । उनले १९ खेलमा ५० विकेट लिएका हुन् ।

प्रतिक्रिया