केपी ओली दलाली गर्ने पार्टीसँग तालेमेल गर्न खोजिरहेका छन् : माधव नेपाल
अखबार टुडे
प्रकाशित:
२०७८, ११ चैत्र

काठमाडौं, ११ चैत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी गठबन्धन गर्न सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहकोमा जाने गरेको आरोप लगाएका छन् ।

शुक्रबार अखिल नेपाल महिला संघ समाजवादीको काठमाडौं जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘उनी सुटुक्क ज्ञानेन्द्र निवासमा जाने गरेका छन् । राप्रपासँग साँठगाँठ गर्न खोजेका छन् । विदेशीहरुको दलाली गर्ने पार्टीसँग तालेमेल मिलाउन खोजिरहेका छन् । किनभने उनी दक्षिणपन्थी शक्ति हुन् । दक्षिण पन्थीहरु दक्षिणपन्थी शक्तिसँग मिल्छन् ।’

उनले लोकतान्त्रिक शक्ति र वामपन्थी शक्तिसँग मिलेर चुनावमा जाने बताए । त्यसअघि संगठन निर्माण गर्न र आफ्नो हैसियत कायम गर्न उनले कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले आगामी चुनावमा कांग्रेससँग गठबन्धन गर्ने उनले बताए । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाले पनि गठबन्धनको कुरा गरेको भन्दै उनले खुसी व्यक्त गरे । अब कांग्रेसको केन्द्रीय समिति बैठकले चुनावमा गठबन्धन गर्ने भनेर औपचारिक निर्णयलाई आफूहरुले कुरेको नेता नेपालले बताए ।

उनले एमाले परित्याग गर्ने लहर चलेको भन्दै देशभक्त पार्टीमा प्रवेश गर्ने महाअभियान सुरु भएको पनि बताए । लोकतान्त्रिक मूल्य र मान्यतालाई आफ्नो आत्मसात गरेकाले निरंकुशताको विरोध र क्रान्तिकारी अडानमा उभिएको एमाले र एकीकृत समाजवादीमा धेरै भिन्न रहेको बताए ।

प्रतिक्रिया