रुसविरुद्ध पश्चिमा देशहरु, युक्रेनलाई थप हतियार दिन सहमत
अखबार टुडे
प्रकाशित:
२०७८, ११ चैत्र

काठमाडौं, ११ चैत । युक्रेनमा रुसले अतिक्रमण सुरु गरेको एक महिना पछाडि डाकिएको नेटो, ईयू र जी सेभेन सम्मेलनमा पश्चिमा देशहरूले रुसी राष्ट्रपति पुटिनविरुद्ध ऐक्यबद्धता जनाएका छन् ।

उनीहरुले पुटिनले विनाकारण आक्रमण गरेको भन्दै युक्रेनलाई थप सैन्य सामग्री उपलब्ध गराउने सहमति गरेको बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडन र युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले रुसले विनाकारण गरेको युद्धका सामु उनीहरू एकताबद्ध भएको बताए ।

ब्रसल्समा आयोजित सम्मेलनमा ३० जनाभन्दा बढी विश्वका नेताहरू सहभागी भएका थिए । उनीहरूले रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाउने र पूर्वी युरोपका चार नेटो सदस्य देशमा थप फौज परिचालन गर्न सहमति जनाएका छन् ।

साथै, युक्रेनलाई थप अस्त्र उपलब्ध गराउन पनि उनीहरू सहमत भएका छन् । ब्रिटेनले युक्रेनलाई दिने क्षेप्यास्त्रको संख्या दोबरले बढाउने बताएको बीबीसीले जनाएको छ ।

यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भिडिओ लिंकमार्फत् सम्बोधन गर्दै थप मद्दतका निम्ति आह्वान गरेका थिए । उनले ट्यांकहरू र लडाकू विमान माग गरेका थिए ।

तर बीबीसीका अनुसार नेटो नेताहरूले चाहिँ युक्रेनमा नेटो फौज परिचालन गरिए त्यसले संकट झन चर्कने र विश्वयुद्धको खतरा बढ्ने आफ्ना भनाइ दोहो¥याएको थिए ।

प्रतिक्रिया