अभिनेता शाह पुर्पक्षका लागि जेल चलान, मतियारको अभियोग लागेका शाहका म्यानेजर जोशी १ लाख धरौटीमा रिहा
अखबार टुडे
प्रकाशित:
२०७८, १० चैत्र

काठमाडौं, १० चैत । नाबालिग गायिकामाथि बलात्कार मुद्दामा हिरासतमा रहेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ ।

बिहीबार थुनछेक बहस सकिएपछि जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले अभिनेता शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

अदालतका अधिकृत हरिशचन्द्र गौतमका अनुसार बलात्कारको मतियार अभियोग लागेका शाहका म्यानेजर कृष्ण जोशीलाई १ लाख धरौटीमा छाड्न आदेश दिएको छ । आदेश भएसँगै जिल्ला कारागार तनहुँमा शाहलाई कारागार चलान गरिसकिएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालतको इजलासमा बुधबार र बिहीबार थुनछेक बहस भएको थियो । पीडित नाबालिगका तर्फबाट जिल्ला न्यायाधीवक्ता रामचन्द्र शर्मा, अधिवक्ताहरू राधिका खतिवडा, मोहना अन्सारी, किशोर सापकोटा, सरिता तिवारी, टेकनारायण गौतम, विमल लामिछाने, सहायक जिल्ला न्यायाधीवक्ता विपिनराज तिवारी र अधिवक्ता शिवराज काफ्लेले बुधबार बहस गरेका थिए ।

यता अभिनेता शाहका पक्षबाट बरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, यदुनाथ खनाल, लव मैनाली, अधिवक्ताहरू भानुभक्त सुवेदी परशुराम गिरी, बार एसोसिएसन तनहुँका अध्यक्ष अधिवक्ता भानुभक्त सुवेदी, यज्ञबहादुर राना, सरिता भण्डारी, माधव घिमिरे लगायत १२ जनाले बहस गरेका थिए।

जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरूद्ध अधिकतम १४ बर्ष कैद सजायको माग गर्दै मंगलबार अभियोग पत्र अदालतमा दर्ता गरेको थियो ।

अदालतले सोही दिन शाहसँग बयान लिएको थियो भने मतियारका रूपमा पेस गरिएका उनका म्यानेजर कृष्ण जोशीसँग बुधबार बयान लिएको थियो । नाबालिग गायिकाले झूटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र नवलपुरमा पटक–पटक पलले बलात्कार गरेको भन्दै उनका परिवारले तनहुँ प्रहरीमा उजुरी दिएको थियो ।

परिवारले फागुन ११ गते उजुरी दिएपछि बेपत्ता भएका पल १५ गते तनहुँ प्रहरीमा आत्मसमर्पण गर्न पुगेका थिए। पीडित परिवारले नवलपुर प्रहरीमा पनि १५ गते जाहेरी दिएका थिए ।

नवलपुर प्रहरीले अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालयमार्फत चैत ३ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकेको छ ।
तनहुँ अदालतले पुर्पक्षका लागि कारागार पठाएपछि अब नवलपुर अदालतमा थुनछेक बहस सुरू हुने नवलपुरका सरकारी वकिल डालबहादुर नेपालीले बताए ।

प्रतिक्रिया