काठमाडौं, १० चैत । आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले चैत मसान्तभित्र उम्मेदवारकोे सिफारिस गरिसक्न मातहतका पार्टी कमिटीहरूलाई निर्देशन दिएको छ ।
बिहीबारको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले चैत मसान्तभित्र उम्मेदवारको सिफारिस गरिसक्न निर्देशन दिएका हुन् ।
बैठकपछि एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले भने, ‘अध्यक्षले चैत मसान्तभित्र स्थानीय तहका उम्मेदवारहरू सिफारिस गरिसक्न निर्देशन दिनुभएको छ ।’
उनका अनुसार पार्टीको सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रीत गर्न पनि निर्देशन समेत अध्यक्ष ओलीले दिएका छने । काठमाडौंमा बुधबारबाट सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको प्रतिवेदन पारित र निर्वाचन केन्द्रीत रणनीति बनाउँदै बिहीबार सकिँदैछ ।
एमालेले स्थानीय तहका उम्मेदवारको छनोट गर्न ६ वटा मापदण्ड तय गरेको छ । उम्मेदवार हुनलाई पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्धता भएको हुनुपर्ने, निर्वाचित प्रतिनिधिको कामको मूल्याँकनको आधार लिनुपर्ने, व्यक्तिगत लोकप्रियता र विजयको सुनिश्चितता देखिनुपर्ने छ ।
त्यस्तै, पार्टीको आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा कायम राखिरहेको हुनुपर्ने, कार्यक्षमता, एव सुशासन र विकासप्रतिको दृष्टिकोण भएकाले मात्र उम्मेदवार हुन पाउने मापदण्ड अगाडि सारिएको छ ।
यस्तै, बैठकले एमालेको केन्द्रीय विभागका सचिव चयन गर्ने जिम्मा केन्द्रीय कमिटी बैठकले सचिवालय कमिटीलाई दिएको छ । केन्द्रीय कमिटी बैठकले यसअघि नै २२ वटा विभागका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकिसकेको छ । सचिव चयन गर्ने जिम्मेवारी पनि केन्द्रीय कमिटीलाई भए पनि बिहीबारको बैठकले सचिवालय कमिटीलाई दिएको हो ।