
काठमाडौं, १० चैत (एजेन्सी) । उत्तर एटलान्टिक सन्धी संगठन नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले बिहीबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेर ठूलो गल्ती गरेको आरोप लगाएका छन् ।
स्टोल्टेनबर्गले ब्रसेल्समा शिखर सम्मेलन शुरु हुनु अघि भनेका छन्, ‘राष्ट्रपति पुटिनले ठूलो गल्ती गरेका छन् र त्यो भनेको स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र विरुद्ध युद्ध शुरु गर्नु हो ।’ उनले थप भने, ‘पुटिनले युक्रेनी जनताको शक्ति, युक्रेनी जनता र उनीहरुको सशस्त्र बलको बहादुरीलाई कम मूल्याङ्कन गरेका छन्’ ।
महासचिव स्टोल्टबर्गले पूर्वी युरोपमा थप सैनिक पठाउने विषयमा कुराकानी भइरहेको र सम्भवत नेटो आवद्ध राष्ट्रहरुले यसलाई सहमति प्रदान गर्ने बताए ।
उनले हाल युक्रेनमा रुसले जारी राखेको आक्रमणलाई पनि मध्यनजर राख्दै पूर्वी युक्रेनमा थप सैनिकको आवश्यकता रहेको आफ्नो बिचार व्यक्त गरे ।
उनले भने, ‘मलाई लाग्छ अहिले पूर्वी युरोपमा थप सैनिक आवश्यकता छ, यो योजनालाई हामीले प्रस्तुत गर्नेछौँ र नेटो आबद्ध राष्ट्रहरुले यसलाई समर्थन गर्नुहुने छ’ ।
स्टोल्टेनबर्गले जनाएअनुसार अमेरिकी नेतृत्वको सैन्य गठबन्धनका नेताहरूले पूर्वी सदस्यहरू रोमानिया, हंगेरी, स्लोभाकिया र बुल्गेरियामा नयाँ तैनाथीलाई सहमति दिएर लामो अवधिमा हाम्रो प्रतिरोध र रक्षाको पुनः स्थापनाको आवश्यकतालाई सम्बोधन गरिनेछ ।
