‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित
अखबार टुडे
प्रकाशित:
२०७८, १० चैत्र

काठमाडौं, १० चैत । सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहितरूपमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ ल्याएकोे छ ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षता आज(बिहिबार) बसेको सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार अब स्थानीय तह निर्वाचन र अन्य निर्वाचन पनि त्यही सुरक्षा नीतिअनुरुप सम्पन्न गर्न सजिलो हुन्छ । निर्वाचन निष्पक्ष र भयरहितरूपमा सम्पन्न गर्न यो नीतिले सहयोग पु¥याउँने उनले बताए ।

बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र निर्वाचनमा सम्पन्न गर्न गर्नुपर्ने कार्यबारे आ–आफ्ना धारणा व्यक्त गरेका थिए । उनका अनुसार आगामी सुरक्षा चुनौती र ती चुनौतीलाई सम्बोधन गर्न अपनाउनुपर्ने रणनीतिबारे पनि छलफल भएको थियो ।

बैठकमा शुक्रबारदेखि हुने चिनियाँ विदेशमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणमा सुरक्षाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि छलफल भएको जनाइएको थियो ।

बैठकमा गृहसचिव टेकनारायण पाण्डे, रक्षासचिव किरणराज शर्मा, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुनाथ खरेल, गृहप्रवक्ता पोखरेललगायतको सहभागिता थियो ।

प्रतिक्रिया