संसारका मानिसलाई युक्रेनी राष्ट्रपतिको भावुक अपील- ‘सडकमा उत्रिएर युक्रेनप्रति समर्थन जनाउनुस्’
अखबार टुडे
प्रकाशित:
२०७८, १० चैत्र

काठमाडौं, १० चैत । रुसले आफ्नो देशमाथि आक्रमण गरेको एक महिना पुगेको दिन बिहीबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संसारभरिका मानिसहरूलाई ‘सडकमा उत्रिएर युक्रेनप्रति समर्थन जनाउन’ अपिल गरेका छन् ।

निरन्तरको रुसी बमबारी झेलिरहेको राष्ट्रपति जेलेन्स्कीले बिहीबार आफ्नो सम्बोधनमा भनेका छन्, ‘तपाइँहरू आफ्ना सहरका चोक तथा सडकमा आउनुस् । देखिनुस् र सुनिनुस् । मानिसको जीवनको महत्व छ, स्वतन्त्रताको महत्व छ, शान्तिको महत्व छ अनि युक्रेनको महत्व छ भनेर बोल्नुस् ।’

उनले सम्बोधनका क्रममा केही बेर अंग्रेजीमा बोल्दै संसारका मानिसलाई युक्रेनी प्रतीक लिएर आउन आग्रह गरेका हुन् । रुसले स्वतन्त्रताविरुद्ध युद्ध छेडेको उनले भनाइ छ ।

रुसको निर्मम र मुढे बललाई संसारले रोक्नुपर्ने उनले बताए । रुसले आक्रमण गरेको एक महिना बितिसकेको र यसबीच आफ्नो, सबै युक्रेनी जनताको अनि यस धरतीका सबै स्वतन्त्र मानिसको मुटु चुँडिएको उनले उल्लेख गरे ।

ब्रसल्समा नेटो बैठक हुन लागेको बेला उनको यस्तो सम्बोधन आएको बीबीसीले जनाएको छ । बुधबार युक्रेनको राजधानी किभका भूभागमा निरन्तर रुसी बमबारी भएको बीबीसीलगायत विभिन्न अन्तर्राष्टिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

पश्चिमा विश्लेषकहरूले युक्रेनले प्रत्याक्रमण गरिरहेको र केही साना सहर पुनः आफ्नो कब्जामा लिएको बताएका छन् । भूउपग्रहले खिचेका तस्बिरमा मारिओपोल सहरमा व्यापक क्षति पुगेको र आवासीय भवनहरूबाट धुवाँको मुस्लो निस्किरहेको देखिएको समाचारहरुमा जनाइएको छ ।

उत्तरतर्फ रुसले डेस्ना नदीमाथिको एक महत्वपूर्ण पुल ध्वस्त पार्दै चेर्निहिव सहर र राजधानीबीचको मुख्य सम्पर्क मार्ग विच्छेद गरिदिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया