ओलीले पुस ५ गतेलाई यसरी कोट्याए: ‘प्रचण्डले पार्टी कब्जा गर्न षड्यन्त्र गरेपछि संसद विघटन गरियो’
अखबार टुडे
प्रकाशित:
२०७८, ९ चैत्र

काठमाडौं, ९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी जोगाउन आफ्नो नेतृत्वको सरकारले संसद विघटन गरेको स्पष्ट पारेका छन् ।

बुधबारदेखि काठमाडौंमा सुरु भएको एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी जोगाउन संसद विघटन गर्नु जरुरी रहेको बताएका हुन् ।

अध्यक्ष ओलीले पार्टीलाई प्रचण्डको कब्जामा पुग्नबाट जोगाउन पुस ५ गते संसद् विघटन गर्नु जरुरी भएको बताए । जबकि, संसद विघटनकै कारण ओलीले सरकारबाट हात धुनु परेको थियो भने अहिले पनि आलोचना खेपिरहेका छन् । तर, अहिले पनि उनी झण्डै दुई तिहाइ बहुमतको संसद विघटनको बचाउन गर्दै आएका छन् ।

बुधबार आफ्नो बचाउ गर्दै ओलीले भने, ‘पुस ५ गते पार्टी जोगाउन संसद विघटन गर्नु जरुरी थियो । पार्टी कब्जा गर्न षड्यन्त्र गरेपछि त्यो गर्नु जरुरी थियो । यति बेला वामपन्थी एकता होइन, पार्टी प्रवेश गर्नुपर्यो । प्रचण्डका मान्छे अझै यतातिर ल्याउनु पर्यो प्रचण्डको भाँडो रित्तो भएपछि प्रचण्डले पार्टी एकता गर्लान् नि त ।’

प्रचण्डले ‘जनयुद्ध’का नाममा कार्यकर्ता र जनतालाई धोका दिएको ओलीको भनाइ छ । प्रचण्डले बरु परिवारकै लागि उद्योग खोलेको भए हुने ओलीको टिप्पणी छ ।

प्रतिक्रिया