काठमाडौं, ९ चैत (एजेन्सी) । रुसी सेनाको कब्जामा रहेको चेर्नोबिल परमाणु पावर प्लान्टको एउटा प्रयोगशालालाई लुटेको र त्यसलाई नष्ट पारेको युक्रेनी अधिकारीले दाबी गरेका छन् । एक्स्क्लुभ जोन म्यानेजमेन्टका लागि युक्रेनको सरकारी एजेन्सीले रुसी सेनाले सेन्ट्रल एनालिटिकल लेबोरेटरीमाथि क्षती पुर्याएको बताएको हो ।
यहाँ ठूलो मात्रामा परमाणु फोहोर राखेको बताइएको छ । आफ्नो फेसबुक पेजमा एजेन्सीले भनेको छ, ‘त्यहाँ रेडियोन्यूक्लाइडको नमूना राखिएका थिए जुन असाध्यै एक्टिभ थिए, यो अब दुश्मनको हातमा छ ।’ एजेन्सीका अनुसार यो प्रयोगशालालाई ६० लाख युरो खर्च गरेर बनाइएको थियो । एजेन्सीका अनुसार प्रयोगशालामा निकै महत्वपूर्ण उपकरण राखिएका थिए जुन युरोपको अन्य स्थानमा छैन ।
सन् १९८६ मा चेर्नोबिलमा संसारको सबैभन्दा भयानक परमाणु दुर्घटना भएको थियो । त्यसपछि यो प्लान्ट बन्द छ । यद्यपि, यसलाई नियमित रुपमा रेखदेखको आवश्यकता पर्दछ । युक्रेनविरुद्ध युद्ध सुरु गरेको केही दिनमा रुसी सेनाले यो पावर प्लान्टमा कब्जा जमाएको थियो ।