भारतको पश्चिम बंगालमा जिउँदै जलाएर ८ जनाको हत्या
अखबार टुडे
प्रकाशित:
२०७८, ९ चैत्र

काठमाडौं, ९ चैत (एजेन्सी) । भारतको पश्चिम बंगालमा जिउँदै जलाएर आठ जनाको हत्या भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बिरभूम जिल्लाको रामपुरहटस्थित बगुटी गाउँका उपप्रधान भडु शिखको सोमबार राति हत्या भएपछि त्यहाँ हिंसा भड्किएको बताइएको छ ।

शिख तृणमूल कंग्रेस (टिएमसी)का नेता हुन् । अहिले पश्चिम बंगालमा टिएमसीको सरकार छ । टाइम्स अफ इन्डियाका अनुसार उक्त घटनामा आठ जना मारिएका छन् ।

सात जनाको शव एकै घरबाट फेला परेको छ भने तीन जना घाइते थिए । उनीहरुमध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । मारिएकामध्ये दुई जना बच्चाहरू पनि छन् ।

समाचारका अनुसार सोमबार राति एक दर्जन घरमा आगो लगाइएको अग्निनियन्त्रण अधिकारीहरूले बताएका छन् । त्यहाँका चर्चित नेता भएको कारण आक्रोशित कार्यकर्ताले प्रतिपक्षी दलका केही घरमा आगो लगाइदिएको हुनुपर्ने आशंका गरिएको छ ।

प्रतिपक्षी दलले आठ जना मारिएको घटनामा टिएमसी जिम्मेवार भएको आरोप लगाए पनि टिएमसीले त्यसलाई स्वीकारेको छैन । घटनालाई लिएर भारतीय जनता पार्टी (भाजपा)ले त्यहाँ राष्ट्रपति शासन लागू गर्नु पर्नेसमेत माग खबरमा उल्लेख छ ।

प्रतिक्रिया