भारतमा बिजुलीको मूल्य अत्याधिक बढ्दा प्राधिकरणलाई आयातमा समस्या
अखबार टुडे
प्रकाशित:
२०७८, ९ चैत्र

काठमाडौं, ९ चैत । भारतीय बजारमा बिजुलीको मूल्य अत्याधिक बढ्दा नेपाललाई आयातमा समस्या परेको छ । मूल्य आकासिएसंगै भारतबाट नेपालमा दैनिक हुने बिजुली आयात करिब ७० प्रतिशतले घटेको हो ।

नेपालले भारतबाट दैनिक ३५० देखि ४०० मेगावाट बिजुली किन्दै आएको छ । तर, भारतमा बिजुली चरम रुपमा महगिंदा आयात गर्न कठिन भएको विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए । ‘महँगो भएपछि हामीले बिजुली किन्न हालेका ‘बिड’हरू परिरहेको छैन,’ उनले भने, ‘हामीले हालेको रेटभन्दा बढी मूल्यमा बिजुली अरुले नै किनेपछि विद्युत आपूर्ति आयात प्रभावित हुने अवस्था आयो ।’

भट्टराईका अनुसार युक्रेन–रुस युद्धका कारण भारतमा कोइलाको अभाव र पेट्रोलियम पदार्थको भाउ बढेकाले भारतीय बजारमा बिजुलीको भाउ पाँच गुणासम्म बढेको छ । भारतमा बिजुलीको भाउ प्रतियुनिट भारू २० सम्म पुग्ने गरेको उनको भनाइ छ। उनले त्यसको असरले लोडसेडिङ नहुँने तर औद्योगिक क्षेत्रमा भनेजति बिजुली नपुग्ने बताए । भारतबाट नेपालले प्रतिस्पर्धी दरमा विद्युत किनिरहेको छ । उच्च मूल्यमा भारतमै बिजुली बिक्री हुन थालेपछि प्राधिरकणले गरेका ‘बिड’ स्वीकृत हुन सकेका छैनन् ।

विद्युत प्राधिरकणले भारतसँग विद्युत खरिदका लागि सम्झौता गरेका भारतको एटीपीसी विद्युत व्यापार निगम र पावर ट्रेड कर्पोरेसनले पनि मूल्य आकासिए पछि विद्युत आपूर्ति सुनिश्चित गर्न सकेका छैनन् । यसले प्राधिकरणलाई संकट पर्ने देखिएको छ ।

प्रतिक्रिया