भ्यू टावर निर्माणमा मन्त्रालयले लगानी गर्न आवश्यक छैन: मन्त्री झाँक्री
अखबार टुडे
प्रकाशित:
२०७८, ९ चैत्र

काठमाडौं, ९ चैत । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आगामी बजेटमा अनावश्यक खर्च बढाउने योजना समेट्न आवश्यक नरहेको बताउँदै भ्यू टावर लगायतका संरचनामा मन्त्रालयले लगानी गर्न नहुने बताएकी छन् ।

सोमबार मन्त्रालयमा आर्थिक बर्ष २०७९/८० को लागि राष्ट्रिय योजना आयोगमार्फत प्राप्त बजेट सिलिङमाथि छलफलमा मन्त्री झाँक्रीले नागरिकलाई बढी लाभ हुने योजना छनोट गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘हामीले कार्यक्रमबाट सभा हल, भ्यू टावर लगायतका बजेटमा राखेर परिणाम दिन सकिदैन, गर्नै पर्ने भए सघन शहरी विकास कार्यक्रम अन्तर्गत समेटौं ।’

भौतिक पूर्वाधारका क्षेत्रमा महत्ववपूर्ण रहेको एकीकृत पूर्वाधार मार्ग (युटिलिटी) कोरिडोर सम्बन्धी ऐन र एकीकृत शहरी विकास योजनालाई समेटेर बजेट बनाउनु पर्नेमा उनले जोड दिए ।

एकीकृत आवास योजनाका कार्यक्रमलाई समेत व्यवस्थित गर्नुपर्ने बताउँदै मन्त्री झाँक्रीले राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग लगायतका संवैधानिक आयोगहरूको आफ्नै भवन समेत नरहेकाले आयोगका भवनहरू निर्माणका लागि कार्यक्रम बनाएर बजेट व्यवस्था गर्नुपर्ने बताइन् ।

योजना आयोगलाई आफ्ना योजनाबारे बुझाउँदा बजेट सिलिङ बढाउन सकिने उनको भनाइ छ । बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटको अनुभव हेरेर फोहोर मैला व्यवस्थापनका लागि प्राविधिक सहयोग गर्ने खालका कार्यक्रम बजेटमा समेट्नु पर्ने बताइन् ।

मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ४५ अर्बको बजेट सिलिङ पाएको छ । मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरका अनुसार आर्थिक वर्ष २०७९÷८० का लागि राष्ट्रिय योजना आयोगबाट चालुतर्फ ३९ अर्ब र पुनर्निर्माण ६ अर्ब गरी जम्मा ४५ अर्ब को बजेट सिलिङ पाएकोे ।

प्रतिक्रिया