काठमाडौं विश्वकै छैटौँ प्रदुषित सहर, सबैभन्दा प्रदूषित बंगलादेश
अखबार टुडे
प्रकाशित:
२०७८, ९ चैत्र

काठमाडौं, ९ चैत । विश्वका १० प्रदूषित सहरमा नेपाल पनि परेको छ । नेपालको संघीय राजधानी काठमाडौं छैठौं प्रदुषित सहरमा परेको हो ।
वायुको गुणस्तरबारे अनुगमन आकलन गर्ने स्विस कम्पनी आक्युएयरले मंगलबार सार्वजनिक गरेको २०२१ वल्ड एयर क्वालिटी रिपोर्टअनुसार नेपाल दशौँ प्रदुषित मुलुकमा परेको छ ।

त्यस्तै, बंगलादेश विश्वकै सबैभन्दा प्रदूषित देश बनेको छ । प्रदूषित देशको सूचीमा चाड र पाकिस्तान क्रमशः दोस्रो र तेस्रो नम्बरमा छन् भने चौथोमा ताजकिस्तान र पाँचौँमा भारत रहेको छ ।

आक्युएयरले संग्रह गरेको तथ्यांकअनुसार कुनै पनि देशले सन् २०२१ मा प्रदूषणसम्बन्धी मापदण्ड पूरा गरेका छैनन् । सर्वेक्षण गरिएका सहरमध्ये ३ दशमलब ४ प्रतिशतले मापदण्ड पूरा गरेको जनाइएको छ ।

११७ देशका ६ हजार ४७५ सहरहरुको वायु गुणस्तर तथ्यांकमा आधारित सो प्रतिवेदन तयार पारिएको हो । भारतको प्रदूषण तह समग्र खराब देखिएको छ । नयाँदिल्ली विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ । यो सँगै दिल्ली लगातार चौथो पटक विश्वकै सर्वाधिक प्रदूषित सहर बनेको हो । विश्वका १०० प्रदूषित सहरहरुमध्ये ६३ वटा भारतमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

दोस्रो खराब राजधानी बंगलादेशको ढाका, तेस्रोमा चाडको एन डिजामिना, चौथोमा ताजकिस्तानको दु दुसान्बे र पाँचौमा ओमानको मस्कट परेका छन् ।

प्रतिक्रिया