जनकपुरधाम, ८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक परिवर्तन आउनुअघि काठमाडौंका शासकले मधेसका जनतालाई दोस्रो दर्जाका नागरिकका रुपमा हेर्ने गरेको बताएका छन् ।
मंगलबार जनकपुरधाममा मधेस प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनयुद्ध र जनआन्दोलनबाट विभेदको रेखा कोर्ने राजामहाराजालाई परास्त गरिएको बताए ।
प्रतिगमनविरुद्धको संघर्षमा मधेसले अगुवा भूमिका खेलेको भन्दै अध्यक्ष प्रचण्डले भने, ‘तपाइँहरुले प्रतिगमनका विरुद्ध जिल्ला सदरमुकाम र गाउँगाउँमा गरेका पहलकदमीमात्र होइन, मधेसबाट काठमाडौंका सडकमा गएर देशभरि सन्देश दिने भूमिका निर्वाह गरेकोमा तपाईहरु सबै धन्यवादका पात्र हुनुहुन्छ ।’
उनले पछिल्लो समय नेकपा माओवादी केन्द्र रुपान्तरण र क्रान्तिकारी विचार विकासको चरणमा प्रवेश गरेको समेत बताए । समाजवादी क्रान्तिको अगुवाई पनि अब मधेसले नै गर्ने अध्यक्ष प्रचण्डको भनाइ छ ।
यस्तै, प्रचण्डले आगामी निर्वाचनमा माओवादीले हारे देशले नै हार्ने जिकिर गरे । उनले अरु पार्टीले हारेमा देशले नहार्ने टिप्पणी गर्दै यसपटक माओवादीले जसरीपनि जित्नु पर्ने बताए ।
लामो संघर्षपछि भएको राजनीतिक परिवर्तनलाई उल्ट्याउने षडयन्त्र देशी–विदेशी प्रतिक्रियावादीबाट भइरहेको भन्दै उनले परिवर्तनको नायक भएका नाताले पनि आफूहरुले आगामी चुनाव हार्न नहुने उनको भनाइ थियो ।
यसका लागि आक्रामक ढंगले प्रतिक्रियावादीविरुद्ध जनतालाई आन्दोलित र संगठित गर्नुपर्नेमा उनले जोड दिए । उनले कार्यकर्ताहरुलाई भने, ‘हाम्राविरुद्ध षड्यन्त्र गर्ने, धाँधली गर्न चाहनेलाई इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुस् ।’