एनआरएनएमा सहमति, चैत १० र ११ मा एकता महाधिवेशन
अखबार टुडे
प्रकाशित:
२०७८, ८ चैत्र

काठमाडौं, ८ चैत । लामो समयदेखि विवादमा रहेको गैर आवासीय नेपाली संघ (एनआरएन) को १० औँ महाधिवेशन चैत १० र ११ काठमाण्डौमा हुने भएको छ ।

मङ्गलवार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष पदका तीन उम्मेदवार कुल आचार्य, बद्रि केसी र रबिना थापाबीच विधानसम्मत महाधिवेशन गर्न सहमति भएपछि एनआरएन विभाजन हुनबाट रोकिएको हो ।

यसअघि देखिएका सबै विवाद समाधान गरी संघलाई एकजुट बनाएर लैजान आफूहरूबीच सहमति भएको उनीहरूको भनाइ छ ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कुमार पन्तले गैरआवासीय एकताबद्ध रहने दाबी गरे । उनले एनआरएनएले नेपालको सामाजिक तथा आर्थिक समृद्धिका निम्ति प्रभावकारी भूमिका खेल्ने पनि बताए । अध्यक्ष पन्तले अधिवेशनबाट तीनै जना अध्यक्षका उम्मेदवारले मिलेर संस्थालाई अघि बढाउने सहमति भएको जानकारी दिए ।

त्यस्तै अध्यक्षका उम्मेदवार डा. बद्री केसीले अहिलेको अवस्थामा संस्थामा सहमति गर्नुबाहेक अन्य कुनै विकल्प नभएको बताउँदै हरेकले आफ्नो व्यक्तिगत स्वार्थभन्दा संस्थाको स्वार्थलाई माथि राखेर अघि बढ्न आवश्यक रहेको बताए । उनले तीनै जना अध्यक्षका प्रत्यासीहरू मिलेर संस्थालाई अघि बढाउने बताए ।

त्यस्तै अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यले पदका लागि भन्दा पनि संस्था बचाउने निर्णयमा पुगेको बताए । उनले सबै गैरआवासीय नेपालीहरूले राष्ट्रिय सहमतिको अधिवेशन गर्नेमा जोड दिइरहेको बताए । त्यस्तै अध्यक्ष पदकी प्रत्यासी रविना थापाले संस्थामा भएका विवादहरूलाई समाधान गरेर सहमतिमा संस्थालाई अघि बढाउने बताइन् ।

सहमति अनुसार प्रमुख संरक्षक शेष घलेले आयोजना गरेको महाधिवेशन रोक्न अध्यक्ष पन्तले आग्रह गर्ने छन् भने उच्च अदालत पाटनमा परराष्ट्र मन्त्रालयविरुद्ध दायर मुद्दा पनि पन्तले फिर्ता लिनेछन् । त्यसैगरी असन्तुष्ट पक्षका तर्फबाट दायर मुद्दा पनि फिर्ता हुने पन्तले जानकारी दिए ।

प्रतिक्रिया