काठमाडौं, ८ चैत । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच करिश्मालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए ।
एमालेमा प्रवेश गरेपछि करिश्माले ‘आफू कुनै पदको सौदाबाजी गर्न’ एमाले प्रवेश नगरेको दावी गरिन् । उनले भनिन्, ‘म एमालेको कार्यकर्ता बन्न आएकी हुँ, कुनै पदको सौदाबाजी गर्न होइन ।’ उनले एमालेसँग जोडिन पाउँदा खुसी लागेको बताइन् ।
‘आजबाट एमालेमा रहेर राजनीतिमा अगाडि बढ्ने अठोट गरेकी छु,’ एमालेमा प्रवेश गरिसकेपछि उनले भनिन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यक्तित्व र कार्यशैली, एमालेको नीति र देशभर देखिएको जनलहरका कारण एमाले रोजेकी बताइन् ।
करिश्माले भनिन्, ‘नेता भनेको जनताको पथप्रदर्शक हो । त्यो म ओलीजीमा पाउँछु ।’ उनले सबै पार्टीले लोकतन्त्र, गणतन्त्र अपनाएका भए पनि एमालेले त्यस अतिरिक्त समानता र सामाजिक न्यायसहितको समृद्धि भन्ने नारा बोकेर पिछडिएका वर्गको उत्थान गर्ने र देश विकास गर्ने नीति अपनाएका कारण पनि आफूले एमाले रोजेको बताइन् । मानन्धरसँगै पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी पनि एमालेमा बिलय भएको छ ।