जनकपुर पुगेर प्रचण्डले भने- ‘चाँडै केही मन्त्रीहरू हेरफेर हुन्छन्, केही नयाँ आउँछन्’
अखबार टुडे
प्रकाशित:
२०७८, ८ चैत्र

जनकपुर, ८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमै मन्त्रिपरिषद पुनर्गठन हुने बताएका छन् ।
मंगलबार बिहान जनकपुरधाममा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्ने र मन्त्रिपरिषद् पुनर्गठनबारे गठबन्धनमा छलफल भएको बताए ।

उनले भने, ‘मन्त्रिपरिषद् विस्तार र हेरफेरको कुरा चलेको छ । सम्भावना पनि छ । केही मन्त्रीहरू हेरफेर हुन्छन्, केहीमा नयाँ आउँछन् ।’ माओवादी केन्द्रले आफ्नो हैसियतअनुसार थप मन्त्रालय पाउनुपर्ने दाबी उनको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको महाधिवेशन र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नयाँ पार्टी बनाएका कारण माओवादी लचिलो हुँदै आएको उनले बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘पहिले प्रधानमन्त्रीले पनि मेरो पार्टीको महाधिवेशनसम्म हेर्दिनुस् भन्नुभयो । माधवजीले पनि मेरो पार्टी नयाँ छ भन्नुभयो । हामीले सबैको अप्ठ्यारो बुझ्यौं । अब चाहिँ मन्त्रिपरिषदमा हामीलाई सम्मानजनक हैसियत चाहिन्छ ।’

चुनावी तालमेलबारे गठबन्धनको नेतृत्व तहमा कुनै तिक्तता नभएको उनले दावी गरे । ‘माओवादी केन्द्रले चुनाव नजित्ने भएकाले गठबन्धन गरेको पनि होइन । हामी आफ्नै खुट्टामा उभिएर, आफ्नै तागतमा चुनाव लड्न सक्षम छौँ ।’

प्रतिक्रिया