निर्वाचन आयोगको तालिकाप्रति ओलीको आपती : भने- ‘आयोगको क्रियाकलाप एमालेविरुद्ध’
अखबार टुडे
प्रकाशित:
२०७८, ७ चैत्र

काठमाडौं, ७ चैत । नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका प्रति आपत्ती जनाएका छन् ।

काठमाडौंमा सोमबार बसेको एमाले पोलिट्व्युरो बैठकलाई सम्बोधन गर्दै ओलीले उम्मेदवारी मनोनयनको समय दुई दिन तोक्ने र उम्मेदवारी दिन पदाधिकारीहरुले राजीनामा दिनुपर्ने लगायतका आयोगको व्यवस्थाप्रति आपत्ती जनाएका हुन् ।

अध्यक्ष ओलीले केन्द्रमा र प्रदेशमा राजीनामा गर्नु नपर्ने तर, स्थानीय तहमा राजीनामा गर्नुपर्ने प्रावधान उचित नरहेको भन्दै आयोगको क्रियाकलाप एमालेविरुद्ध रहेको धारणा राखे । उनले स्थानीय तह निर्वाचनको तयारीका बिषयमा आयोगले गठबन्धन दलसँग मात्र परामर्श लिएको आरोप लगाए ।

उनले अहिलेको अवस्थालाई मध्यनजर गर्दा कलात्मक ढंगले निर्वाचन सार्ने प्रयास भइरहेको टिप्पणी गरे । अध्यक्ष ओलीले यसपालिको निर्वाचनमा मतपेटिकालाई आँखाबाट ओझेल गर्न दिन नहुने बताए । एमालेको सांसदसम्बन्धी मुद्धालाई प्रभावित पार्नका लागि सत्ता गठबन्धनले प्रधानन्यायाधिशमाथि महाभियोगको प्रस्ताव अघि सारेको समेत उनको आरोप छ ।

उनले आफ्ना स्वार्थका लागि न्यायलयप्रति अनावश्यक टिप्पणी नगर्ने धारणा राखे । अध्यक्ष ओलीले आफ्नो पार्टी फुटाउन सभामुखले भूमिका खेलेको दोहोराए ।

अध्यक्ष ओलीले अहिले देशभर एमाले प्रवेश गर्नेको लहर चलेको भन्दै एमाले प्रतिको भरोशा बढाउने काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया