लेटाङमा घटनामा संलग्न रहेको आशङ्कामा आठ जना पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७८, ७ चैत्र

काठमाण्डौं, ७ चैत । मोरङको लेटाङमा भड्किएको हिंसामा एक महिला प्रहरीको ज्यान गएपछि घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मन्जिल मुकारुङका अनुसार अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो । उनका अनुसार छात्रालाई यौन दुर्व्यवहार गर्ने शिक्षकलाई पनि हिरासतमा राखिएको छ ।

शुक्रवार होलीको दिन एक शिक्षकले १२ बर्षीया छात्रालाई दुर्व्यवहार गरेको विषयमा विवाद हुँदा हिजो स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायरसमेत गरेको थियो । सो क्रममा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको हो । उनको घाँटी र छातीमा छुरा प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ ।

तनाव बढेपछि लेटाङमा आज बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको छ । छात्रालाई निरन्तर दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरीले बिना कारबाही बचाउन लागेको भन्दै शिक्षा विकास माविका विद्यार्थी र स्थानीय बासिन्दा आक्रोशित भएका थिए । उनीहरुले आरोपित शिक्षक आफूहरुलाई जिम्मा लगाउन माग गरेका तर प्रहरीले स्थानीयलाई शिक्षक बुझाउन नमिल्ने बताएपछि झडप भएको बुझिएको छ ।

प्रतिक्रिया