
काठमाडौं, ७ चैत । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसीसँगको वार्ता विफल हुनुको अर्थ ‘तेस्रो विश्वयुद्ध’ हुने बताएका छन् ।
सीएनएन टेलिभिजनसँग आइतवार कुरा गर्दै राष्ट्रपति जेलेन्स्कीले जारी लडाइँ अन्त्य गर्ने एउटै बाटो ‘वार्ता’ भएको बताउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष कुरा गर्न आफू तयार रहेको बताए ।
उनले भने, ‘मलाई लाग्छ सहमति गर्ने सम्भावना पहिल्याउनका निम्ति जुनसुकै स्वरूप, अवसरको सदुपयोग गर्नुपर्छ,’ । उनले वार्ताका लागि कुनै पनि तरिका र सम्भावनाको उपयोग गर्नुपर्ने बताएका हुन् । राष्ट्रपति जेलेन्स्कीले सम्झौताको नाममा रुससँग आत्मसमर्पण भने नगर्ने स्पष्ट पारेका छन् । उनले यदि युक्रेन नेटोको सदस्य भएको भए यो युद्ध नै हुँदैनथ्यो भनेका छन् ।
रुसले २६ दिनदेखि युक्रेनमा आक्रमण गर्दै आएको छ । आक्रमणबाट जनधनको धेरै क्षति भएको छ । यसअघि रुस र युक्रेनी अधिकारीबीच बेलारुसमा भएको वार्ता निष्कर्षविहीन भएको थियो । अहिले टर्कीले दुवै देशका अधिकारीलाई वार्तामा बसाउने पहल गर्दै आएको छ ।