रुस-युक्रेन युद्ध : रुसले गरेको आत्मसमर्पण आह्वान युक्रेनद्वारा अस्वीकार
अखबार टुडे
प्रकाशित:
२०७८, ७ चैत्र

काठमाडौं, ७ चैत । युक्रेनले आत्मसमर्पण नगर्ने बताएको छ । रुसले दिएको समयसीमाभन्दा अगावै युक्रेनी सरकारले निरन्तर आक्रमणमा परिरहेको मारिओपोल सहरमा आत्मसमर्पण नगर्ने जवाफ दिएको हो ।

आत्मसमर्पण गरेर हतियार त्यागे लडाकु र गैरसैनिकलाई सुरक्षित मार्ग दिने रुसले भनेको थियो । तर, युक्रेनले आत्मसमर्पण गर्ने कुरै नहुने जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरेस्चुकले आफ्ना सैनिकले हतियार त्याग्ने प्रश्नै नउठ्ने बताएको बिबिसीले जनाएको छ । रुसले आत्मसमर्पण गर्न दिएको समयसीमा सकिनु घण्टौँ अगाडि नै उनले त्यसो भनेकी हुन् । मस्कोले सोमबारबाट त्यहाँ सुरक्षित मार्ग खोलिदिने बताएको छ ।

कोही बाँकी रहे उनीहरूले सैन्य अदालतको सामना गर्नुपर्ने पनि उसले चेतावनी दिएको बताइएको छ । तर मारिओपोल सहरका मेयरका एकजना सल्लाहकारले बीबीसीसँग कुरा गर्दै मस्कोको प्रस्ताव विश्वास गर्न नसकिने भन्दै अन्तिमसम्म लडिरहने बताएका छन् ।

गहिरिँदै मानवीय संकट

युक्रेनको दक्षिणी बन्दरगाह सहर मारिओपोलमा रुसले हप्तौँदेखि घेराबन्दी तथा निरन्तर आक्रमण गरिरहेको छ । राजधानी किभस्थित पत्रकार लीज डुसेटले त्यसलाई पूरै सहरलाई भोकभोकै पारेर आत्मसमर्पणका निम्ति बाध्य पार्ने सैन्य रणनीति भनेकी छन् ।

यसैबीच मस्कोस्थित रक्षा मन्त्रालयले मारिओपोलमा डरलाग्दो मानवीय संकट उत्पन्न भइरहेको स्वीकारेको बिबिसीमा खबर छ । रुसी बमबारीका कारण मारिओपोल सहर लगभग ध्वस्त भइसकेको बताइएको छ ।

प्रतिक्रिया