कांग्रेसले चैतभित्र स्थानीय तहको उम्मेद्वार टुंग्याँउछ : डा. महत
अखबार टुडे
प्रकाशित:
२०७८, ६ चैत्र

सल्यान, ६ चैत । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आसन्न स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठ्ने उम्मेद्वारहरुको टुंगो चैत्र महिनाभित्र लगाइसक्ने बताएका छन् ।

आइतबार नेपाल प्रेस युनियन सल्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतले भने, ‘यसपटक विगतमा भए जस्तो उम्मेदवादी दिने अन्तिमदिनसम्म को उठ्ने हो भन्ने टुंगो नलाग्ने स्थिति रहने छैन् । निर्णय गर्ने प्रक्रिया पनि विभिन्न तहमा विकेन्द्रित छ । चैत्र महिनाभित्रै उम्मेदवारको टुंगो लगाउने कोशिस गछौं,’ ।

उनले अहिले पार्टी विधानले नै पार्टीका तर्फबाट विभिन्न तहका निर्वाचनमा उठाइने उम्मेदवारहरुको टुंगो लगाउन पार्टीले केन्द्र, प्रदेश, जिल्ला र पालिका तहमा संसदीय समितिको व्यवस्था गरेको बताए ।

उनले पार्टीका तल्लो तहका समितिले टुंग्याउन नसकेका विवाद भए केन्द्रले हेर्न सक्ने पनि बताए । उनले भने, ‘जुन तहको उम्मेद्वारी हो, त्यही टुंगियोस् । सर्वसम्मत भएर टुंगियोस् भन्ने केन्द्रको चाहना छ ।’ साथै उनले ‘घरघर जाऔं नेपाली कांग्रेसलाई जिताऔं’ भन्ने देशव्यापी अभियानमा बढीभन्दा बढी जनतालाई पार्टींसँग जोड्न पनि पार्टीका हरेक तहका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।

उनले निर्वाचनमा सकेसम्म जो उठाउँदा बढी मत आउँछ त्यसैलाई प्राथमिकता दिएर उम्मेद्वारी तय गर्न उपयुक्त हुने बताए । डा. महतले स्थानीय चुनावमा सत्तागठबन्धनमा रहेका दलहरुबीच गठबन्धन हुने नहुने बारेमा नेपाली कांग्रेसको यही ११ गते बस्ने बैठकले सिद्धान्त तय गर्न सक्ने पनि बताए ।

प्रतिक्रिया