रुसी सेनाद्वारा युक्रेनको दक्षिणी बन्दरगाह सहर घेराउ : बेलायतले भन्यो, ‘हवाइ क्षेत्र कब्जा गर्न रुस असफल’
अखबार टुडे
प्रकाशित:
२०७८, ६ चैत्र

काठमाडौं, ६ चैत । रुसले युक्रेनको हवाई क्षेत्रमाथि नियन्त्रण गर्न असफल भएको बेलायतको रक्षा मन्त्रालयले जनाएको छ । रुसी हवाई क्षेत्रबाट प्रक्षेपण गरिएका अस्त्रहरूमा भर परिरहेको समेत मन्त्रालयले दावी गरेको छ ।

बिबिसीले उल्लेख गरेअनुसार युक्रेनको हवाई क्षेत्रलाई कब्जा गर्नु मस्कोको प्रमुख उद्देश्यमध्ये एक भएको बेलायती रक्षा मन्त्रालयको दाबी छ । ‘द्वन्द्वको सुरुवाती दिनमा युक्रेनको हवाई क्षेत्र आफ्नो नियन्त्रणमा ल्याउनु रुसको प्रमुख उद्देश्यमध्ये एक थियो’ मन्त्रालयले भनेको छ, ‘तर निरन्तर प्रयासपश्चात् पनि त्यसो गर्न असफल हुनुले रुसी पक्षको प्रगतिलाई धुमिल बनाएको छ ।’

यद्यपि, माइकोलाइभमा रुसी हवाई हमलाहरू दिनभर भइरहेको विवरणहरू सार्वजनिक भएका बिबिसीले जनाएको छ । त्यहाँ करिब २०० सैनिकहरू बसिरहेको बताइन्छ ।

यसैबीच अर्को समाचारअनुसार सडकहरूमा जारी झडपका कारण मारिओपोलस्थित एक नाटकघरको भग्नावशेषमा फसेका मानिसहरूको उद्धार प्रभावित भएको जनाइएको छ । बुधबार रुसले उक्त नाटकघरमा मिसाइल आक्रमण गरेको थियो । त्यहाँ अझैपनि सयौँ मानिसहरूले आश्रय लिइरहेका दावी गरिएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यहाँको भूमिगत तलामा १,३०० जना जति रहेको बताएका थिए । तर, झडपका कारण उद्धारकर्ताहरूलाई त्यहाँ पुग्न वाधा भइरहेको मारिओपोलका नगरप्रमुखले बीबीसीलाई बताएका छन् । नगरप्रमुखका अनुसार रुसी सेनाले त्यस दक्षिणी बन्दरगाह सहरलाई घेरेका छन् र निरन्तर गोलाबारी भइरहेको छ ।

प्रतिक्रिया