चुनावका लागि खुल्यो म्यादी प्रहरीको भर्ना (सूचनासहित)
अखबार टुडे
प्रकाशित:
२०७८, ६ चैत्र

काठमाडौं, ६ चैत । आसन्न स्थानीय तह चुनावका लागि आजदेखि ११ गतेसम्म म्यादी प्रहरीमा भर्ना खुलेको छ ।

वैशाख ३० गते हुने चुनावका लागि १८ देखि ५४ वर्ष ननाघेका इच्छुक व्यक्तिले ४० दिनका लागि म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिन सक्नेछन् ।

भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुने उल्लेख छ । म्यादी प्रहरीमा भर्ना हुन सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिनेछ । म्यादी प्रहरीले प्रहरी जवानसरह नै सेवा सुविधा पाउनेछन् ।

छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर चुनावको सुरक्षामा खटाउने तयारी छ भने प्रशिक्षण आउँदो २८ गतेदेखि सुरु हुने उल्लेख गरिएको छ । म्यादी प्रहरीले दिनको सात सय ५६ रुपैयाँका दरले तलब पाउनेछन् ।

४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइने जनाइएको छ । स्थानीय चुनावका लागि एक लाख जना म्यादी प्रहरी माग गरिएको छ ।

प्रतिक्रिया