प्रचण्डले भने, ‘के हामी अहिले नै भूमिगत भएर हतियार उठाएर जाने स्थिति हो त ?
अखबार टुडे
प्रकाशित:
२०७८, ५ चैत्र

सिन्धुली, ५ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धेरै सोचविचार गरेरमात्र एमसीसी सम्झौता अनुमोदन गरेको बताएका छन् ।

शनिबार सिन्धुलीमा पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा झै क्रान्तिकारी भएर देखाउँदा प्राप्त उपलब्धी गुम्ने जोखिम देखेपछि १२ बुँदे ब्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गरेको बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘अहिले पनि क्रान्तिकारी टोपलिएर १२ बुँदे गर्दिन भनेको भए, केन्द्र सरकार पनि जाने, सभामुख पनि जाने, प्रदेशको सरकार पनि जाने, शान्ति सम्झौता पनि जाने । त्यसैले धेरै सोचेर एमसीसी अनुमोदन गरेका हौँ ।’

उनले कार्यकर्तासँग के हामी अहिले नै भूमिगत भएर हतियार उठाएर जाने स्थिति हो त ? भन्ने प्रश्न गर्दै भने, ‘सर्वनाश हुन लाग्यो भने जति पाइन्छ त्यति लिएर त्यहाँ टेकेर अगाडि बस्नु पो वुद्धिमानी हो । जे होस्, देश संकटबाट बच्यो ।’

साथै, उनले पटक पटक बुढानिलण्ठ गएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदिनुस् भनेर गठबन्धन बनाएको स्मरण गर्दै अबको चुनाव माओवादीले आफ्नो बलमा जित्न ध्यान दिनुपर्ने बताए । उनले अबको २ महिना युद्धकालीन शैलीमा काम गर्न कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘जसरी पनि चुनाव जित्नुपर्छ ।’

अध्यक्ष प्रचण्डले जसले परिवर्तन ल्याएको त्यसले हार्ने, र जो परिवर्तन विरोधी, त्यसले जित्ने चुनाव हुन नसक्ने भन्दै गुण्डागर्दी, धाँधली र षडयन्त्र गरेर जित्न खोज्नेलाई परास्त गर्नुपर्ने बताए ।

उनले भने, ‘भिलेन राम्रो भएन भने हिरो पनि राम्रो हुँदैन । अहिले केपी ओली जस्तो गतिलो भिलेनका कारण हामी जनतामा जान पाएका छौँ, नकारात्मक रूपमा भने पनि ओलीलाई धन्यवाद भन्ने गरेको छु ।’

प्रतिक्रिया