रुसविरुद्ध प्रतिबन्ध लगाउनु गल्त: चीन
अखबार टुडे
प्रकाशित:
२०७८, ४ चैत्र

काठमाडौं, ४ चैत । संयुक्त राष्ट्रसंघका लागि चीनका प्रतिनिधिले रुसविरुद्ध प्रतिबन्ध लगाउनु गल्ती हुने बताएका छन् ।

राष्ट्रसंघीय सुरक्षा परिषद्मा बोल्दै झाङ जुनले भने, ‘तथ्यहरूले प्रतिबन्धको प्रयोगबाट कुनै समस्या समाधान हुँदैन भन्ने प्रमाणित गरिसकेका छन् । बरु त्यसले नयाँ समस्याहरू उत्पन्न गराउँछ,’ । त्यस्तो उपायले खाद्यान्न र ऊर्जा सङ्कट बढ्ने तथा विशेषतः विकासोन्मुख राष्ट्रमा मानिसहरूको जीविकोपार्जनमा क्षति पु¥याउने उनले बताए ।

उनले चीन अन्तर्राष्ट्रिय समुदायजस्तै युक्रेनमा युद्धविराम हुनुपर्ने पक्षमा रहेको दोहो¥याको बिबिसीले उल्लेख गरेको छ । उनले भने, ‘सबै पक्षले आगोमा घिउ थप्न नभई शान्तिवार्ताका लागि थप काम गर्नेछन् भन्ने हाम्रो अपेक्षा छ ।’

रुसी सेनालाई खाद्यान्नलगायत आधारभूत सामग्रीको अभाव
रुसी सेनाले युक्रेनमा आफ्नो आक्रमण जारी राख्न सङ्घर्ष गरिरहेको बेलायती रक्षा मन्त्रालयको पछिल्लो गुप्तचर आकलनले जनाएको छ । युक्रेनमा कमजोर हुँदै गएको रुसी आक्रमणलाई खाद्य सामग्रीको समस्याले घेरिरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सैनिकहरूले उनीहरूको सीमित गतिशीलता र हवाई लडाकु विमानहरूको अभावका कारण खाना र इन्धनजस्ता आधारभूत आवश्यक वस्तु अन्य सेनाहरूलाई प्रभावकारी ढङ्गमा पुनः आपूर्ति गर्न सकेका छैनन् ।

युक्रेनको निरन्तर प्रत्याक्रमणहरूले रुसलाई आफ्नो आपूर्ति लाइनको रक्षा गर्न ठूलो सङ्ख्यामा सेना फिर्ता लग्न बाध्य तुल्याएको छ । यसले रुसको आक्रमण क्षमतालाई निकै सीमित गरिरहेको छ । प्रतिवेदनले बिहीवार अमेरिकाले गरेको आकलनलाई प्रतिविम्बित गर्छ जसमा रुसको सेना देशभित्र नै अल्झिएका छन् भनिएको थियो ।

अस्ट्रेलिया र जापानद्वारा रुसमाथि थप प्रतिबन्ध घोषणा
अस्ट्रेलिया र जापानले रुसमाथि थप प्रतिबन्धहरू घोषणा गरेका छन् । क्यान्बराले रुसी अर्बपति ओलेग देरिपास्का र भिक्टोर भेक्सेल्बर्ग, ११ वटा ब्याङ्क र सरकारी निकायहरूलाई प्रतिबन्ध लगाएको छ । रुसको केन्द्रीय ब्याङ्कलाई पनि उक्त सूचीमा समावेश गरेर अस्ट्रेलियाले सरकारी ऋण जारी गर्ने र प्रबन्ध गर्ने सबै सरकारी निकायलाई लक्षित गरिएको अस्ट्रेलियाका विदेशमन्त्रीले बताएका छन् ।

जापानले थप १५ रुसी नागरिक र नौ संस्थालाई प्रतिबन्ध लगाएको छ । त्यसमा सरकारी स्वामित्वको अस्त्र निर्यातकर्ता रोसोबोरोनएक्सपोर्ट पनि रहेको छ ।

प्रतिक्रिया