पुटिनले युक्रेनसँग शान्ति सम्झौताका लागि अघि सारेका माग यी हुन्
अखबार टुडे
प्रकाशित:
२०७८, ४ चैत्र

काठमाडौं, ४ चैत । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति सम्झौताका लागि आफ्ना मागहरू अगाडि सारेका छन् । बिहीवार पुटिनले टर्किश समकक्षी रेजेप तय्यीप एर्दोआनलाई रुसका ठोस मागहरू बताएका हुन् ।

टर्किश अधिकारी इब्राहिम कालिनका अनुसार पुटिन र एर्दोआनबीच भएको टेलिफोन कुराकानीमा रुसका मागहरू दुई भागमा बाँडिएको छ । कालिनले बताएअनुसार शुरूका चारवटा रुसी मागहरू पूरा गर्न युक्रेनलाई धेरै गाह्रो छैन ।

तीमध्ये एउटा प्रमुख माग भनेको युक्रेन तटस्थ बस्नुपर्ने र उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको सदस्यताका लागि अघि बढ्न नहुने रहेको छ । त्यस्तै, युक्रेन निरस्त्रीकरणको प्रक्रियामा जानुपर्ने हुन्छ जसले रुसका लागि ऊ खतरा नभएको सुनिश्चित गरोस् ।

युक्रेनमा रुसी भाषालाई संरक्षण गर्नुपर्ने र सार्वजनिक जीवनबाट नाजीवादका सबै अवशेष एवम् प्रभावको अन्त्य हुनुपर्ने पनि माग छ । यो माग चाहिँ जेलेन्स्कीका लागि अपमानजक छ जो आफैँ एक यहुदी हुन् र उनका पनि केही आफन्तहरू यहुदी नरसंहारमा मारिएका थिए । तर रुसको त्यो माग पनि पूरा गर्न जेलेन्स्कीलाई खासै गाह्रो नहुने टर्कीको विश्वास छ ।

दोस्रो भागका मागको हकमा कठिनाइ देखिन्छ र सहमतिमा पुग्नुअघि पुटिनका अनुसार जेलेन्स्कीसँग उनले साक्षात वार्ता गर्नुपर्ने हुन्छ । दोस्रो भागका मागबारे एर्दोआनका सल्लाहकार कालिनले खासै ठोस कुरा गरेका छैनन् । उनले ती मागहरू पूर्वी युक्रेनको डोनबास क्षेत्रसँग सम्बन्धित रहेको बताए ।

युक्रेनले पूर्वी भूभाग छोड्नुपर्ने रुसी माग रहेको अनुमान गरिएको छ । अर्को अनुमान अनुसार रुसले सन् २०१४ मा आफूमा गाभेको युक्रेनको क्राइमियालाई रुसकै भूभागको रूपमा मान्यता दियोस् भन्ने चाहना छ जुन कुरा युक्रेनका लागि साँच्चै फलामको चिउरा चपाए सरह हुनेछ । – बिबिसीबाट

प्रतिक्रिया