युरोपेली नेताहरूले भने, ‘युक्रेन एक्लो छैन, हाम्रा देशहरू युक्रेनकाे साथमा छन्’
अखबार टुडे
प्रकाशित:
२०७८, २ चैत्र

काठमाडौं, २ चैत । रुसी आक्रमण चर्किएसँगै युक्रेनको साथमा उभिनका लागि पोल्याण्डदेखि किएभसम्म लामो खतरनाक रेल यात्रा गरेर पुगेका तीन जना युरोपेली नेताहरूको युक्रेनले प्रशंसा गरेको छ ।

बिबिसीले उल्लेख गरेअनुसार मंगलबार साँझ किभमा कर्फ्यु लागू रहेकै बेला पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गरेका थिए ।

‘हामी तपाइँहरूको साहसी लडाइँको प्रशंसा गर्छौँ’ भेटपछि सामाजिक सञ्जाल ट्विटरमा पेत्र फियालाले लेखेका छन्, ‘हामीलाई थाहा छ तपाइँहरूको हाम्रो जीवनका लागि पनि लडिरहनु भएको छ । तपाइँहरू एक्लो हुनुहुन्न । हाम्रा देशहरू तपाइँका साथमा छन् ।’

पोल्याण्डका प्रधानमन्त्री मातेउस मोराभिएत्सकीले आफूहरूले युक्रेन गुमाए युरोप अहिलेको जस्तै नहुने टिप्पणी गरेका छन् । मोराभिएत्सकी, फियाला र स्लोभेनियाका यानेस यान्सा गत फेबु्रअरी २४ तारिखमा रुसले आक्रमण सुरु गरेयता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीलाई भेट्ने प्रथम अन्तर्राष्ट्रिय नेता भएकाे बताइएकाे छ ।

‘तपाइँहरूको भ्रमण युक्रेनको लागि समर्थनको शक्तिशाली अभिव्यक्ति हो’ जेलेन्सकीले किभ पुगेका नेताहरूको समूहलाई भनेको बताइएको छ । किएभमा युरोपका तीन नेताहरूसँग छलफल भइरहेका बेला ठूलो विस्फोटनको आवाज सुनिएको अन्तर्राष्ट्रिय समाचारहरुमा जनाइएको छ ।
युक्रेन पुगेका नेताहरूले आफूहरूसँग कुनै निश्चित म्यान्डेट नरहेको तर फ्रान्समा गत हप्ता भएको युरोपेली संघको सम्मेलनका क्रममा उल्लेख गरिएका कारण ब्रसल्सका नेताहरूलाई भ्रमणको जानकारी रहेको बताए ।

साथै, भेटपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘यो भ्रमणको उद्देश्य युक्रेनको सार्वभौमसत्ता र स्वतन्त्रताको लागि सम्पूर्ण युरोपेली संघको स्पष्ट समर्थन पुष्टि गर्नु र युक्रेनी राज्य र समाजको लागि समर्थनको व्यापक प्याकेज प्रस्तुत गर्नु हो ।’

प्रतिक्रिया