काठमाडौं, १ चैत । बलिउड अभिनेता आमिर खानले किरण रावसँग करिब ८ महिनाअघि नै सम्बन्धविच्छेद गरेको खुलासा भएको छ । यो कुरा उनैले खुलासा गरेका हुन् ।
हालै एक टेलिभिजन अन्तर्रवार्ताका क्रममा आमिरले आफ्नो पारिवारिक सम्बन्धको बारेमा आफूले किरणसँगको १५ वर्ष लामो सम्बन्ध तोडेकोबारे स्पष्टीकरण दिएका छन् ।
दुई जनाको सम्बन्धविच्छेदको विषय सार्वजनिक भएपछि आमिरलाई अरूसँग सम्बन्ध राखेको आरोप समेत लगाइएको थियो ।
‘परिवारका रूपमा हामीले केही डिस्कस गरिरहेको हुँदा म कतै न कतै हराएको उहाँले मलाई बताउनुहुन्थ्यो । उहाँले मलाई म अर्कै व्यक्ति भएकोसमेत भन्नुहुन्थ्यो । यसपछि किरणजीले मसँग भन्नुभयो– तपाईं परिवर्तन हुनुहोस् भन्ने म चाहन्नँ किनकि, म तपाईँको मन र व्यक्तित्वलाई प्रेम गर्छु, त्यसैले म चाहन्न कि तपाईं कहिल्यै परिवर्तन हुनुहोस्,’ आमिरले अन्तर्वार्ताका क्रममा भनेका छन्, ‘तर अहिले किरणजीले ७ वर्षअघि भनेको कुरा सम्झन्छु । आज म भन्छु, गत ६–७ महिनामा मैले आफूमा धेरै परिवर्तन देखेको छु ।’
के यही कारण आमिरलाई सम्बन्धविच्छेद भयो कि भन्ने प्रश्नमा उनले भने, ‘किरणजी र म एकअर्कालाई धेरै माया गर्छौ । हामी एकअर्काप्रति धेरै आदर गर्छौं । तर मानिसहरूले हाम्रो समीकरण बुझेनन् । मानिसहरूलाई बुझ्न गाह्रो छ । यसो हुनुको कारण अक्सर हामी विवाहितहरूबीच त्यस्तो बन्धन देख्दैनौँ ।’
आफूहरूको सम्बन्धविच्छेद कुनै अर्को सम्बन्धका कारण नभएको उनले जिकिर गरे । कुनै समय आमिरले पहिले फिल्ममा सँगै अभिनय गरेको आफ्नै सहकर्मी अभिनेत्रीसँग तेस्रो बिहे गर्न लागेको हल्ला चलेको थियो । किरणको सम्बन्धविच्छेदपछि सामाजिक सञ्जालमा आमिरको फिल्म ‘दंगल’की अभिनेत्री फातिमा साना शैखको नाम ट्रेन्डिङमा आएको थियो । प्रशंसकहरुले फातिमाकै कारण आमिर र किरण छुटिएको हुन सक्ने अनुमान लगाएका थिए ।
फातिमा र आमिर एकअर्कासँग नजिक छन् । दंगल फिल्ममा फातिमाले आमिरको छोरीको भूमिका खेलेकी थिइन् । आमिर उनलाई राम्रो अभिनेत्रीमध्ये मान्छन् भने फातिमाले आमिरलाई आफ्नो गुरु मान्छन् ।
आमिरले अझै पनि किरणलाई माया गर्ने समेत बताउँदै भने, ‘हामीहरु अझैँ सँगै काम गछौँं । पति–पत्नीको हैसियतमा हाम्रो सम्बन्ध परिवर्तन भएको छ तर हामी विवाहजस्तो पवित्र बन्धनलाई सम्मान गर्न चाहन्थ्यौं । हामी एक अर्काको हात समातेर अगाडि बढ्नेछौं। हामी सँगै काम गर्दैछौँ ।’ उनले आफूहरु एउटै बिल्डिङमा बस्दै आएको पनि बताए ।
यस्तै आमिर खानले पहिलो पत्नी रीना दत्तासँग विवाह टुट्नुको कारण किरण राव नभएकोसमेत स्पष्ट पारेका छन् । आमिरले रीनासँग सम्बन्धविच्छेद गर्ने समयमा उनको जीवनमा कोही नभएको दाबी गरे ।
आमिर खानले सन् २००५ मा किरण रावसँग विवाह गरेका थिए । सन् २००२ मा आफ्नी पहिलो पत्नी रीना दत्तासँग डिभोर्स गरेको ३ वर्षपछि उनीहरूले दोस्रो विवाह गरेका थिए । (एजेन्सीको सहयोगमा)