युक्रेनको मिसाइल आक्रमणबाट २० जनाको मृत्यु, अघि बढ्ने रुसी प्रयास केही दिनदेखि रोकिएको अमेरिकी दाबी
अखबार टुडे
प्रकाशित:
२०७८, १ चैत्र

काठमाडौं, १ चैत (एजेन्सी) । रुसी विदेश मन्त्रालयले युक्रेनी सेनाले प्रहार गरेको क्षेप्यास्त्रबाट २० जनाको मृत्यु भएको र २८ जना घाइते भएको बताएको छ ।

सेनाका अनुसार डोनेट्स्कको एक आवासीय इलाकामा टोचका–यु रणनीतिक मिसाइलले आक्रमण गरिएको थियो । युक्रेनी सञ्चारमाध्यमले डोनबासमा भीषण लडाइ जारी रहेको बताएको छ ।

युक्रेनको सशस्त्र बलका अनुसार १०० रुसी सैनिक मारिएका छन् र ६ वटा गाडी ध्वस्त भएका छन्, द किभ इन्डिपेन्डेन्टले उल्लेख गरेको छ । रुसले डोनेस्क ओब्लास्टमा युक्रेनी प्रतिरक्षा तोड्ने प्रयास गरिरहेको पनि बताइएको छ ।

कीभ इन्डिपेन्डेन्टले उल्लेक गरेअनुसार रुसले खार्किभमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । खार्किभका गभर्नर ओलेह सिन्येहुबोभले खार्किभलाई रुसमा राखिएको छोटो दुरीको इस्कन्डर ब्यालिस्टिक मिसाइल प्रणालीले प्रहार गरेको दाबी गरेका छन् ।

गत फेब्रुअरी २४ मा, डोनेट्स्क र लुहान्स्क जन गणतन्त्रहरूले आफ्नो रक्षा गर्न मद्दतको लागि अनुरोध गरेपछि रुसले युक्रेनमा विशेष सैन्य कारबाही शुरु गरेको जनाएको छ ।

रुसी रक्षा मन्त्रालयले विशेष अपरेसनले युक्रेनी सैन्य पूर्वाधारलाई मात्र लक्षित गरेको र सर्वसाधारण नागरिक खतरामा नरहेको बताएको छ । यद्यपि पश्चिमी देशहरूले रुसीहरूको यी दावीहरूलाई अस्वीकार गरेका छन् र प्रतिक्रियामा पश्चिमी राष्ट्रहरूले मस्कोमा व्यापक प्रतिबन्धहरू लगाएका छन् ।

रुसले प्रहार गरेका क्षेप्यास्त्रमा ‘नौलो उपकरण’
युक्रेनमा रुसले प्रहार गरेका बलिस्टिक क्षेप्यास्त्रमा नौलो उपकरण जडान भएको अमेरीकाले दाबी गरेको छ । अमेरिकी अधिकारीहरूका अनुसार बलिस्टिक क्षेप्यास्त्रहरुमा पहिला थाहा नभएको छद्म साधन जडान गरिएको र त्यसका कारण क्षेप्यास्त्रलाई बीचमै रोक्न नसकिने छ ।

बीबीसीका अनुसार नाम उल्लेख नगरिएका एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले छोटो दूरीको इस्कान्डर–एम बलिस्टिस्क क्षेप्यास्त्रमा जडित एक फुट लामो त्यस्तो साधनमा रेडिओ सङ्केत उत्पन्न गराउने विशेष उपकरण हुने गरेको र त्यसका कारण प्रहार गरिएको क्षेप्यास्त्र रेडारले पत्ता लगाउन नसक्ने विवरण प्रकाशित गरेको छ ।

त्यसबाहेक आइरहेका क्षेप्यास्त्रलाई आफूतिर आकर्षित गर्न प्रत्येक साधनमा तापको एउटा स्रोत पनि हुन्छ । ती अमेरिकी अधिकारीहरूका अनुसार सन् १९७० को दशकदेखि नै पारमाणविक युद्धशीर्षमा भेदन प्रक्रियामा सहयोग गर्ने त्यस प्रकारको साधन प्रयोग हुँदै आएको छ ।

सामाजिक सञ्जालमा अस्त्रविज्ञहरूले पहिचान गर्न नसकिएका त्यस्ता साधनका तस्बिरहरू प्रेषित गरेका छन् । फेब्रुअरी २४ मा युक्रेनमा रुसले आक्रमण गरेपछि रुसी सेनाले ९०० वटा क्षेप्यास्त्र प्रहार गरिसकेको एक वरिष्ठ अमेरिकी रक्षा अधिकारीले सोमवार संवाददाताहरूलाई बताएका थिए ।

‘रुस र युक्रेनबीच दिनहुँ वार्ता भइरहेको छ’
रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेदिन्स्किीले रुस र युक्रेनका बीचमा प्रायः दिनहुँ वार्ता भइरहेको जानकारी दिएको छ । रुसी राष्टपति भ्लादिमिर पुटिनका निकटस्थ समेत मानिने उनले सो जानकारी दिएको हो ।

उनले रुस र युक्रेनका द्धिपक्षीय वार्ता टोलीका तर्फबाट दिनहुँजसो वार्ता भइरहेको बताउँदै तर ठोस निष्कर्ष भने ननिस्किएको जानकारी दिए । उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘हामी दिनहुँजसो वार्ता गरिरहेका छौँ, हामीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको एजेण्डाअनुसार वार्ता गरिरहेका छौँ’ ।

युक्रेनको राजधानी कीभको मध्यभागमा शक्तिशाली विस्फोट
युक्रेनको राजधानी कीभको केन्द्रमा मङ्गलबार बिहानै कम्तिमा तीनवटा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपी पत्रकारहरूले उल्लेख गरेका छन् । उक्त विस्फोटको कारण भने थाहा हुन सकेको छैन ।

एक एएफपी पत्रकारले टाढाबाट धुवाँको मुस्लो उठेको देखेको तर रातिको समय कर्फ्युका कारण त्यहाँ पुग्न नसकेको जनाएका छन् । विस्फोटपछि एउटा आवासीय भवनमा आगलागी भएको युक्रेनको सरकारी समाचारसंस्था युक्रिनफोर्मले जनाएको छ ।

युक्रेनमा अघि बढ्ने रुसी प्रयास केही दिनदेखि रोकिएको अमेरिकी दाबी
भीषण बमबारी भइरहेको भए पनि युक्रेनमा अघि बढ्ने रुसी प्रयास केही दिनदेखि रोकिएको पेन्टागनले जनाएको छ । पेन्टागनको पछिल्लो मूल्याङ्कन अनुसार युक्रेनी सहरहरूले बहादुरीपूर्वक आफ्नो रक्षा गर्न सफल भएका छन् ।

अमेरिकी रक्षा मन्त्रालयले युक्रेनले प्रभावकारी रूपमा हवाई प्रतिरक्षा प्रणाली प्रयोग गरेका कारण रुसी सेना हवाई हमलामा पनि त्यति धेरै अघि बढ्न नसकेको जनाएको छ । फेब्रुअरी २४ तारिखमा युक्रेनमाथि आक्रमण सुरु गरेको रुसले हालसम्म कुनै पनि ठूलो युक्रेनी सहर नियन्त्रणमा लिन सकेको छैन ।

प्रतिक्रिया