‘पीर’ले माओवादी जनयुद्धलाई गलत अर्थ्याइएको छैन: प्रकाश सपुत
अखबार टुडे
प्रकाशित:
२०७८, ३० फाल्गुन

काठमाडौं, ३० फागुन । गायक प्रकाश सपुतको आफ्नो पछिल्लो गीत ‘पिर’ विवादमा आएपछि उनले कलाको दुष्टिकोणले हेर्न आग्रह गरेका छन् ।

सोमवार फेसबुकमा स्टाटस लेख्दै गायक सपुतले ‘पीर’ गीतले युद्धकै जगबलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको बताएका छन् ।

उनले समानताका लागि एकसाथ लडेकाहरू बीच असमानाको दुरी देखाउन खोजेको र एक आम नागरिकले सरकारसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्न कोसिस गरेको बताए । उनले व्यवस्था परिवर्तनमा माओवादी युद्ध र आन्दोलनलाई कतै पनि गलत अर्थ्याइएको छैन बताए । बरु भएभरका परिवर्तनको जस दिइएको उनको भनाई छ ।

आफूले कसैको सहयोग र सल्लाहमा नभइ आफ्नै सोच र विचारले यो गीत बनाएको बताए । भिडियोमा भएका कुनै दृष्यले कसैको आत्मसम्मानमा चोट पुगेकोमा माफी माग्दै सपुतले लेखेका छन्, ‘सिर्जना र स्वतन्त्रताको कुरा गरौँ । तर यसलाई राजनीतिकरण नगर्न सबैसँग अनुरोध गर्दछु । मैले आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेको छु । मेरो विनम्र अनुरोध मलाई कुनै कित्तामा नउभ्याइदिनु होला ।’

उनले गीत र भिडियोको भाषा, शैली, प्रस्तुतिलाई कलाका दृष्टिबाट, विचारका दृष्टिबाट हेर्न आग्रह गर्दै भिडियोमा प्रस्तुत गरिएका पात्र वास्तविक नै रहेको र आफूले देखेको, सङ्गत गरेका चरित्रलाई गीतमा उतारेको उल्लेख गरेका छन् । उनले कसैले यस विषयलाई नियतवश उक्साएर वा निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई दुविधामा नपार्न पनि आग्रह गरे ।

सपुतले माओवादी युद्धमा लागेका तत्कालीन लडाकुले अहिले जीवन निर्वाह गर्न सङ्घर्ष गर्नुपरेको र देह व्यापारमा समेत लाग्नुपरेको लगायतका विभिन्न पक्षलाई समेटेर गीत ल्याएछि केहीले आलोचना गरेका छन् ।

https://youtu.be/Gep3jLq32OI

प्रतिक्रिया