रुसले चीनसँग सैन्य र आर्थिक सहयोग मागेको अमेरिकी दाबी, नेटोलाई युक्रेनको यस्तो आग्रह
अखबार टुडे
प्रकाशित:
२०७८, ३० फाल्गुन

काठमाडौं, ३० फागुन । रुसले चीनसँग सैन्य सामग्रीे सहायता मागेको अमेरिकी अधिकारीहरूले दाबी गरेका छन् ।

फाइनान्सियल टाइम्स र वाशिङ्टन पोस्ट पत्रिकामा आएका विवरणअनुसार युक्रेन अतिक्रमण सुरु भएदेखि नै रुसले बेइजिङ्सँग त्यस्तो मद्दत मागेको थियो । तर विवरणमा रुसले कस्तो प्रकारका अस्त्र सहायता खोजेको हो भन्ने बताइएको छैन ।

बीबीसीका अनुसार वाशिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले अमेरिकी दाबीलाई खण्डन गर्दै मस्कोले हतियार मागेको बारे आफूहरूलाई कुनै जानकारी नभएको बताए । चीनको मुख्य प्राथमिकता लडाइँ चर्कन नदिनु नै रहेको बताए ।

हालसम्म चीनले रुस–युक्रेन युद्धमा आफूलाई तटस्थ रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको छ । तर उसले युक्रेन अतिक्रमणलाई लिएर रुसको निन्दा भने गरेको छैन । रुसलाई पश्चिमा प्रतिबन्ध छल्न सहयोग गरे चीनले त्यसको परिणाम भोग्नुपर्ने अमेरिकी अधिकारीले बताएका छन् ।

यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुनः नेटोलाई उनको देशको आकाशमाथि उडान प्रतिबन्धित क्षेत्र घोषणा गर्न आह्वान गरेका छन् । उनले अब रुसले केही समयमै उक्त पश्चिमा सैन्य गठबन्धनका सदस्य देशलाई पनि निसानामा पार्ने बताए ।

युक्रेनको पोल्यान्डसँगको सिमाना क्षेत्रमा रुसी क्षेप्यास्त्र आक्रमणमा ३५ जनाको ज्यान गएपछि जेलेन्स्कीले उक्त टिप्पणी गरेका हुन् ।

साथै जेलेन्स्कीले आफूले युरोपेली परिषद् अध्यक्ष चार्ल्स मिसेलसँग कुरा गरेको र अब युक्रेन ईयूको सदस्य हुने विषय वास्तविकता हुन लागेको पनि बताए ।

प्रतिक्रिया