‘जनयुद्धबाट शान्ति प्रक्रियामा आउनु ठिक थियो कि थिएन भन्ने बहस भइरहन्छ’
अखबार टुडे
प्रकाशित:
२०७८, ३० फाल्गुन

काठमाडौं, ३० फागुन । गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’माथि विभिन्न टिप्पणी र आलोचना भइरहेको छ । यसैबेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाशले ल्याएको ‘पिर’ गीतबारे कोही उत्तेजित हुनु आवश्यक नभएको बताएका छन् ।

माओवादीकै केही नेता तथा भातृ संगठन वाइसिएल र अनेरास्ववियू क्रान्तिकारीले प्रकाशको उक्त गीत आलोचाना गर्दै युट्युबबाट हटाउन माग गरिरहेका बेला प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सोमबार सुदूरपश्चिम प्रदेशको धनगढीमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले जनयुद्धबाट शान्ति प्रक्रियामा आउनु ठिक थियो कि थिएन भन्नेमा पनि बहस भइरहने समेत बताए ।

उनले भने, ‘मैले त्यो पुरै गीत हेर्न पाएको पनि छैन । मेरो विचारमा अहिले हामी कोही उत्तेजित हुनुपर्ने छैन । तर्क वितर्क हुन्छन्, पक्ष विपक्ष हुन्छन्, त्यसलाई सहज र स्वभाविक रूपले लिनुपर्छ ।’

जनयुद्धबाट शान्ति प्रक्रिया र संविधानसभामा ल्याएको भन्नेमा पनि पक्ष र विपक्षमा बहस हुने गरेको उनको भनाइ छ । ‘शान्ति प्रक्रियामा आएकोमा गर्व गर्ने पक्ष पनि छ । शान्ति प्रक्रियामा ल्याएर माओवादीले बर्बाद ग¥यो भन्ने पनि छ’ उनले भने, ‘हामी उत्तेजित हुनुपर्ने छैन । योबारे हामी गइसकेपछि सयौं वर्षसम्म पनि बहस रहन्छ ।’

उनले आफू कतार, मलेसिया जाँदा त्यहाँ काम गर्न पुगेका पूर्वलडाकुसँग कुराकानीसमेत भएको स्मरण गर्दै भने, ‘कतार, मलेसिया जाँदा त्यहाँ लडाकु दुःखपूर्ण जीवन विताइरहेका छन् । दुःख गरे पनि कमरेड तपाईंलाई अप्ठ्यारो परेका बेला भन्नुस् हामी फेरि आउन तयार छौँ, विचलित भएका छैनौँ भन्नुभएको थियो ।’

गीत सार्वजनिक भएपछि युट्युब तथा सामाजिक सन्जालमा यसले चर्चा पाएको हो । केहीले यसले राम्रो कथा उठाएको भनेर प्रशंसा गरेका छन् भने केहीले एकतर्फी कथा भनेको भन्दै गायक सपुतको विरोध गरेका छन् ।

चुनाव नजिकिएको बेला माओवादीको विरोध गरेको भनेर केहीले यसको आलोचना गरेका छन् भने केहीले भने यसले राम्रो कथा र सामाजिक अवस्थाको उत्कृष्ट प्रस्तुति गरेको भन्दै प्रंशसा गरेका छन् । गीतमा माओवादी सशस्त्र द्वन्द्वमा सहभागी माओवादी लडाकुहरू द्वन्द्वपछि कस्तो स्थितिमा छन् भनेर पिरमा देखाउन खोजिएको छ ।

भिडिओमा एउटा सशस्त्र द्वन्द्वमा सहभागी लडाकुका एक दम्पति देशमा काम गर्न नसकेर विदेश जान बाध्य परेको र विदेशमा बन्धक बनेको कथाले देखाएको छ ।

भिडिओमा प्रकाश सपुतसँगै नायिका सुरक्षा पन्त देखिएकी छन् । आरन प्रोडक्सनले उत्पादन गरेको गीतमा प्रकाशको आवाज छ भने सम्झना भण्डारीले पनि स्वर भरेकी छन् ।

प्रतिक्रिया