प्राधिकरणले अम्बे स्टिल्सलाई ३५ मेगावाट बिजुली दिने
अखबार टुडे
प्रकाशित:
२०७८, २९ फाल्गुन

काठमाडौं, २९ फागुन । नेपाल विद्युत् प्राधिकरणले बाँकेको नेपालगञ्ज क्षेत्रमा सञ्चालित अम्बे स्टिल्स उद्योगलाई एक महिनाभित्रमा ३५ मेगावाट बिजुली दिने तयारी गरेको छ ।

प्राधिकरणले अहिले सो स्टिल्स उद्योगलाई आठ मेगावाट विद्युत् आपूर्ति गरिरहेको छ । उद्योगले क्षमता विस्तारका लागि थप २७ मेगावाट विद्युत् माग गरेको छ । प्राधिकरणले उद्योगसम्म विद्युत् पु¥याउनका लागि आवश्यक सम्पूर्ण संरचनाको निर्माण सम्पन्न गरी एक महिनाभित्रमा थप २७ मेगावाटसहित अम्बे स्टिल्सलाई ३५ मेगावाट बिजुली दिन लागेको हो ।

उद्योगसम्म विद्युत् पु¥याउनका लागि कोहलपुर सवस्टेशनबाट ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । उद्योगले पनि थप विद्युत् आपूर्ति लिनका लागि आफ्नो परिसरमा सवस्टेसन निर्माण र कारखानाको क्षमता विस्तारको काम अन्तिम चरणमा पु¥याएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले शनिबार मात्रै स्थलगत अवलोकन भ्रमण गरी नेपालगञ्ज तथा कोहलपुर औद्योगिक क्षेत्रमा सञ्चालित र आगामी दिनमा खुल्न सक्ने उद्योगलाई विद्युत् आपूर्ति दिन निर्माण गर्नुपर्ने विद्युतीय पूर्वाधारका विषयमा छलफल गरेको छ ।

टोलीले नेपालगञ्ज क्षेत्रमा सबैभन्दा बढी विद्युत् खपत गर्ने अम्बे स्टिल्स्को भ्रमण गरी एक महिनाभित्र विद्युत् आपूर्ति लिने गरी आफूले गर्नुपर्ने सम्पूर्ण पूर्वतयारीका काम सक्न उद्योग व्यवस्थापनलाई आग्रह गरेको छ । औद्योगिक करिडोरमा विद्युत् खपत बढाउन नयाँ पूर्वाधारको निर्माण र भइरहेका संरचनाको सुदृढीकरण तथा स्तरोन्नति अभियानकै रुपमा अगाडि बढाइएको कार्यकारी निर्देशक घिसिङले बताए ।

अम्बे स्टिल्सले विद्युत् जडानका लागि आफ्ना पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पु¥याएको छ । यस्तै आवश्यक तयारी पूरा गर्नासाथ विद्युत् आपूर्ति दिन सकिन्छ, प्राधिकरणको तर्फबाट कुनै समस्या नरहेको बताइएको छ । उनले अम्बे स्टिल्स् सञ्चालित क्षेत्रमा अन्य उद्योग पनि खुल्ने र उक्त क्षेत्र औद्योगिक करिडोरका रुपमा विकास हुन लागेकाले त्यहाँ १३२ केभीको सवस्टेसन निर्माणको प्रक्रिया अगाडि बढाइएको बताए । सवस्टेशन निर्माणका लागि जग्गा अधिग्रहण सुरु गरिएको छ । त्यसका लागि एशियाली विकास बैंकसँग सहुलितपूर्ण ऋण सम्झौता भइसकेको प्राधिकरणले जनाएको छ ।

हाल सञ्चालनमा रहेको पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनबाट करिब १० सर्किट किलोमिटर १३२ केभी लाइन बनाएर १३२ केभीको सवस्टेसनमार्फत आगामी दिनमा उद्योगलाई बिजुली दिइने छ ।

कोहलपुर क्षेत्रका औद्योगिक तथा घरायसी ग्राहकलाई भरपर्दो, गुणस्तरीय र चाहिएजति बिजुली दिन हाल रहेका वितरण प्रणालीको क्षमतालाई दोब्बर बनाउन लाइन र ट्रान्सफर्मर थप गर्ने योजनाअनुरुप काम भइरहेको कोहलपुर वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले जानकारी दिए ।

प्राधिकरणले ठूला औद्योगिक हब बन्ने सम्भावना भएका बारा–पर्सा क्षेत्र, भैरहवा, सुनवल, परासीलगायतका क्षेत्रमा उच्च क्षमताका प्रसारण तथा वितरण लाइनसहितको विद्युतीय पूर्वाधार बनाउन लागिरहेको छ ।

प्रतिक्रिया