काठमाडौं, २९ फागुन । जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहले नवलपरासीको कावासोतीस्थित सरकारी वकिलसमक्ष बयान दिएका छन् ।
सो क्रममा शाहले १७ बर्षीय नाबालिग महिलामाथि जबरजस्ती नगरेको तर राति गुडनाइट भन्न गएको भनेर वयान दिएको प्रहरी श्रोतले जनाएको छ । शाहको भनाइ उदृत गदै प्रहरी स्रोतले भन्यो, ‘सुटिङका क्रममा हामी भेटिएका हौँ । राति सुत्ने बेला म गुडनाइट भन्न ती गायिकाको ढोकासम्म पुगेँ । तर जबरजस्ती गरिन ।’
स्रोतले भन्यो, ‘ती गायिका र मेरो कोठा चाही नजिकै थियो । १०१ नम्बर कोठामा म थिएँ । र, गायिका १०२ नम्बर बसेकी थिइन् । होटाल सुटिङ युनिटले बुक गरेका हुन् । को को कहाँ रहे भन्नेबारे सबै थाहा भएन’ ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । अनुसन्धानकै क्रममा प्रहरीले पलका म्यानेजरलाई समेत पक्राउ गरेको छ । गैँडाकोटमा बयानलगायतका अन्य प्रमाण प्रहरीले तनहुँमै पठाउनेछ । दुवै जिल्ला एकै प्रकृतिको घटनाको किटानी भएकाले तनहुँबाट अदालती प्रक्रिया अगाडि बढाइन लागेको हो । अनुसन्धानका लागि जिल्ला अदालत तनहुँले दोस्रो पटक १२ दिनको म्याद थपेको छ ।