रुस-युक्रेन युद्धको १८औँ दिनमा कति सैनिकले ज्यान गुमाए ? यस्तो छ युक्रेनको दावी
अखबार टुडे
प्रकाशित:
२०७८, २९ फाल्गुन

काठमाडौं, २९ फागुन । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको आज १८औँ दिन भयो । अहिले पनि युद्ध जारी छ । रुसले युक्रेनको राजधानी किभ घेरा हाल्दैछ ।

रुस र युक्रेनबीच युद्ध चर्किरहँदा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले झण्डै १२ हजार रुसी सेनाको मृत्यु भएको दावी गरेका छन् । त्यस्तै, उनले रुसको आक्रमणमा परी अहिलेसम्म १,३०० युक्रेनी सैनिकको मृत्यु भएको बताएको बिबिसीले जनाएको छ ।

एक पत्रकार सम्मेलनमा बोल्दै उनले शुक्रबारसम्म झन्डै ५०० देखि ६०० रुसी सैनिकले युक्रेनमा आत्मसमर्पण गरेको बताएका थिए । तर, त्यस्तो दाबीको स्वतन्त्र रूपमा पुष्टि नभएको बीबीसीले जनाएको छ ।

जेलेन्स्कीले युद्धमा ज्यान गुमाउने रुसी सैनिकको संख्या ठूलो भएको भएपनि आफू त्यसप्रति खुसी नभएको बताएका छन् । ‘उनीहरूले अनुमानित १२,००० जना गुमाउँदा मलाई प्रसन्नता छैन, यसले मलाई खुसी बनाउँदैन’ उनले भनेका छन् ।

आइतबार युद्धको अठारौँ दिन बिहान विभिन्न सहरहरूमा विस्फोटन भइरहेको विवरण प्राप्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । केही दिनअघि अमेरिकाले दुई साताको अवधिमा झन्डै ५,००० देखि ६,००० रुसी सैनिकको मृत्यु भएको अनुमान गरेको थियो । सीबीएस न्यूजका अनुसार अमेरिकी अधिकारीहरूले त्यस्तो आकलन गरेका हुन् ।

मृतकको अनुमानित संख्याका आधारमा घाइते हुने सैनिकको संख्या १५,००० देखि १८,००० भएको बताइएको थियो । एक अमेरिकी अधिकारीले हताहत हुने रुसी सैनिकको अनुमानित संख्याले रुसले ठूलो क्षति बेहोर्नुपरेको देखिएको बताएका थिए ।

प्रतिक्रिया