‘एमसीसी पार्टीबाट फेल भयो भने राजीनामा दिन्छु, ढुक्क हुनुहोला’: प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७८, २९ फाल्गुन

काठमाडौं, २९ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीबारे पार्टीमा चुनावपछि थप छलफल गर्ने बताएका छन् ।

पार्टीको प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका प्रचण्डले एमसीसीबारे पार्टीभित्र विवाद भएको स्वीकार गर्दै चुनावपछि छलफल हुने र बैठकबाट फेल भए आफूले नैतिकताका आधारमा अध्यक्षबाट राजीनामा दिने समेत बताए ।

उनले व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा नगए पार्टी आन्दोलनमा जाने चेतावनी दिँदै उनले भने, ‘ आगामी चुनावपछि पार्टीमा एमसीसीबारे छलफल हुन्छ । फेल भयो भने राजीनामा दिन्छु, ढुक्क हुनुहोला’।

प्रचण्डले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको पनि बताए। प्रचण्डले आफ्नो विचार, एजेण्डा, भिजन प्रस्तुत गरेर आफ्नै बलमा चुनाव जित्न कोशिश गर्ने बताए । उनले भने, ‘गठबन्धन पहिलो कुरा होइन । आफ्नै खुटमा उभिने हो, आफ्नै जनआधार सुदृढ गर्ने हो ।’ चुनाव नजिक आउँदै गर्दा मुद्दा मिल्नेहरु र लेनदेन गर्न सहज हुनेहरुबीच गठबन्धन हुनसक्ने उनले बताए ।

अर्को प्रशंगमा प्रचण्डले एमसीसीको विरोधमा पार्टी छाडेर एमालेमा जानु हास्यास्पद भएको उनको टिप्पणी छ । उनले माओवादी छोडेकालाई एमालेमा जानुभन्दा नेत्र विक्रम चन्द विप्लवको नेपाल कम्युनिस्ट पार्टीमा, नारायणमान बिजुक्छेको नेमकिमा र मोहन वैद्यको नेकपा क्रान्तिकारीमा जानु भन्दै व्यङ्ग्य गरे ।

प्रतिक्रिया